एमाले पार्टी एकताको आधार कमजोर बन्दैछ : माधव नेपाल

सफल खबर संवाददाता

शनिबार, ३० साउन २०७८, १६ : ०९
एमाले पार्टी एकताको आधार कमजोर बन्दैछ : माधव नेपाल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता आधार कमजोर बन्दै गएको बताएका छन् । उनले नेकपा एमाले पार्टी अब विभाजनको डिलमा पुगेको बताए । शनिबार  बागमती प्रदेश सम्पर्क समितिको शपथ ग्रहण कार्यक्रममा उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकलौटी गतिविधि कारण पार्टी एकताको आधार कमजोर बनिरहेको बताए । 

नेता नेपालले पार्टी अध्यक्ष ओलीले पार्टीको विधान संशोधन गर्ने भनेपछि पार्टी एकताको कुरा गर्नेहरू पनि छ्याङ्ग भएको टिप्पणी गरे। उनले आफूले एकता चाहिरहेको तर पार्टी अध्यक्ष ओलीले विभाजन चाहेको उल्लेख गरे ।  उनले भने, ‘हुँदा हुँदा अहिले पार्टीको विधान संशोधन गर्ने प्रस्ताव सुनिसकेपछि भ्रममा परेका साथीहरू, आशा गरेर बसेका मान्छेहरू पनि छर्लङ्ग भएका होलान्, निराश भएका होलान् । छाँगाबाट खसेको स्थितिमा पुगेका होलान् ।’

उनले ओलीले माधव नेपाल जस्तालाई एमालेमा ठाउँ छैन भनिरहेको तर एकताको कुरा गर्ने साथीहरूले  सबै निर्णय खारेज हुन्छ भने पनि अहिलेसम्म कुन निर्णय खारेज भयो भनेर प्रश्न गरे । केपी ओलीका महासचिवले आउने आउँछन् जाने जान्छन् पार्टी अगाडि बढ्छ भन्ने गरेको पनि नेता नेपालले बताए । त्यस्तो अवस्थामा लुरुक्क परेर ओलीको टाङमुनि नछिर्ने बरु क्रान्तिकारी ढङ्गले पार्टीलाई अगाडि बढाउने बताए ।

उनले जब ओलीलाई पार्टीको विधिमा बाँध्न खोज्दा  सरकारको काम राम्रोसँग गर्नुहोस् भनेर सुझाव दिँदा मन नपरेको बताए । उनले भने, ‘हामीले राम्रो सुझाव दिँदा मलाई घेराबन्दी गर्ने भन्न थाल्नुभयो । मलाई निर्देशन दिने मान्छे यस धर्तीमा जन्मेको छैन । मलाई मनमा जे आउँछ, स्वेच्छापूर्वक काम गर्नेछु । मेरो आदेश सबैले पालना गर्नुपर्छ भन्ने उहाँको मनोदृष्टि हामीले मनोगत भनेर त्यतिकै भनेका हैनौँ । तथ्य र घटनाक्रमले त्यसलाई पुष्टि गर्दै आइरहेको छ ।’

ओलीमा कुनै सुधारको लक्षण नदेखिएको नेता नेपालले बताए । उनले ओलीको अत्याचार सहने अवस्था नभएको बताउँदै ओलीसमक्ष आत्मसमर्पण नगर्ने तर पार्टीलाई रूपान्तरण गरेर अघि बढ्ने बताए ।