भदौमै पार्टीको महाधिवेशन हुनुपर्ने माग गर्दै कांग्रेसका कार्यकताले गरे देउवा निवासबाहिर प्रर्दशन

सफल खबर संवाददाता

विहीबार, २८ साउन २०७८, १४ : ३२
भदौमै पार्टीको महाधिवेशन हुनुपर्ने माग गर्दै कांग्रेसका कार्यकताले गरे देउवा निवासबाहिर प्रर्दशन

काठमाडौँ । भदौमै पार्टीको १४औँ महाधिवेशन हुनुपर्ने माग गर्दै कांग्रेसका कार्यकताले सभापति शेरबहादुर देउवाको निवासबाहिर प्रर्दशन गरेका छन्।

पार्टी कार्यालयमा विरोध र धर्ना हुने भएपछि सभापति देउवाको निवास बुढानिलकण्ठमा केन्द्रीय कार्यसमितिको बैठक राखिए पनि कार्यकर्ताले प्रर्दशन गरेका हुन्।

उनीहरुले समायोजनमा भएको ‘धाँधली खारेज गर, क्रियाशिल सदस्यतामा भएको धाँधली खारेज गर लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन्।

दिउँसो २ बजेका लागि बोलाइएको बैठक सुरु हुँदैछ।भदौ १६ गतेदेखि निर्धारण गरिएको महाधिवेशन नहुँदा कांग्रेसको वैधानिकता नै गुम्ने भएकाले महाधिवेशन टार्न नहुने कार्यकर्ताको खबरदारी छ।

प्लेकार्डसहित उपस्थित भएका कार्यकर्ता वरिष्ठ नेता पौडेल पक्षका हुन्। विरोध कार्यक्रमको अगुवाइ रञ्जित कर्णले गरेका छन्। कर्णले भने, ‘भदौ २३ गतेपछि संविधानअनुसार कांग्रेसले वैधानिकता गुमाउँदै छ। कांग्रेस खारेज हुन सक्छ। पुरानो पार्टीलाई अवैधानिक हुनबाट जोगाउनुपर्छ।’

बिहीबार बस्ने केन्द्रीय कार्यसमितिले बिथोलिएको महाधिवेशनको नयाँ कार्यतालिका निर्धारण गर्ने तयारी गरेको छ। तर पौडेल समूहले अझै पनि भदौमा ‘फाष्ट ट्रयाक’बाट भए पनि महाधिवेशन सम्पन्न गर्नुपर्ने अडान राखेको छ।

तर संस्थापन पक्षले भने आगामी मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेको छ। संस्थापन समूह मंसिरमा तल्लो तहका अधिवेशन सुरु गरेर माघमा महाधिवेशन गर्ने रणनीतिमा छ। तर पौडेल समूह जति सक्दो चाँडो महाधिवेशन गर्नुपर्ने दबाब संस्थापन समूहलाई दिइरहेको छ।

कांग्रेसको १३ औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा भएको थियो। पार्टी विधानको सुविधाअनुसार कांग्रेसले एक वर्ष म्याद गर्नुका साथै सो म्याद पनि गत फागुन १९ गते समाप्त भएपछि संविधानको प्रावधानअनुसार ६ महिना अवधि थप गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस