मन्त्री र सचिवले गुप्त कोठामा गर्ने कामको जानकारी दिन सीसी क्यामेरा राखियोस् : देवकोटा

सफल खबर संवाददाता

आइतबार, २४ साउन २०७८, १५ : ४५
मन्त्री र सचिवले गुप्त कोठामा गर्ने कामको जानकारी दिन सीसी क्यामेरा राखियोस् : देवकोटा

काठमाडौँ । राष्ट्रिय सभा सदस्य खिमलाल देवाकोटाले शासन प्रणालीलाई पारदर्शी बनाएर जनतालाई राज्यले दिने सेवा र सुविधा पारदर्शी बनाउनुपर्ने सुझाव दिएका छन् । वर्तमान सरकारले पारदर्शी शासन व्यवस्थाका लागि हरेक मन्त्री र सचिवका गुप्त कोठामा सीसी क्यामेरा राख्नुपर्ने उनको भनाइ थियो । 

सभाको आइतबारको बैठकमा देवकोटाले भने, यो सरकारले हरेक मन्त्रालयको मन्त्री र सचिवले भित्र गुप्त कोठामा गरिरहेका काम कारबाहीको बारेमा जानकारी दिन कोठाबाहिर पनि देखिने गरी सीसी क्यामेरा राखियोस् । गुप्त कोठामा बसेर गरेको शासनले अपेक्षित उपलब्धि दिएन । शासकहरू पारदर्शी भएनन् ।

राज्यका संयन्त्रको स्थापना जनतालाई प्रभावकारी रूपमा गुणस्तरीय सेवा दिनका लागि हुने भन्दै सांसद देवकोटाले त्यसका लागि सरकार तयार हुनुपर्ने धारणा राखे । जुनसुकै शासन व्यवस्था भएता पनि यसको मूल उद्देश्य जनतालाई छिटो–छरितो तरिकाले गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह गर्नु हो । सेवासँग विकास र समृद्धि पनि जोडिएको हुन्छ ।

शासन व्यवस्था परिवर्तन भएपनि जनताले राज्यबाट अपेक्षा गरेअनुसारको सेवा नपाएको गुनासो सर्वत्र रहेको पनि देवकोटाको भनाइ थियो । सेवा प्रवाहमा सुधारका लागि राज्यका हरेक अंगहरू निरन्तर क्रियाशील हुनुपर्ने उनले बताए । त्यसैगरी राज्यका अंगहरू रचनात्मक, पारदर्शी र जवाफदेही हुन पनि आवश्यक रहेको उनको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस