तनहुँ । तनहुँस्थित नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रको आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म रु छ करोड छ लाख ३९ हजार बक्यौता रहेको छ । कोभिड–१९ बाट सुरक्षित हुन निषेधाज्ञा जारी गरिएसँगै महसुल बुझाउन ग्राहक नआएपछि उक्त रकम बक्यौता हुन पुगेको सो कार्यालयले जनाएको छ ।
विगतका वर्षमा सरदर रु तीन करोड बक्यौता हुने गरे पनि गत आवमा दुई गुणा बढीले रकम बक्यौता हुन पुगेको कार्यालयका सूचना अधिकारी विष्णुराज लोहनीले जानकारी दिए। उनका अनुसार ९३.८ प्रतिशत रकम सङ्कलन गर्न सकिएको छ भने ६.२ प्रतिशत सङ्कलन गर्न नसकिएको हो । सरकारले बक्यौता हुने ग्राहकको लाइन काट्न निर्देशन दिए पनि कोभिड–१९ का कारण फिल्डमा जान सक्ने अवस्था नरहेकाले लाइन नकाटिएको उनले बताए ।
यहाँ ४० हजार ४८५ विद्युत्का ग्राहक छन् । चार करोड ५२ लाख दुई हजार ५२८ युनिट विद्युत् बिक्री गर्दा रु ३९ करोड ७६ लाख ४० हजार ९८४ राजश्व सङ्कलन गरिएको छ । प्रणाली व्यवस्थित गर्न सकिए करेन्टको कुनै अभाव नरहेको सो कार्यालयले जनाएको छ । जिल्लामा १०।५४ प्रतिशत विद्युत् चुहावट हुने गरेको बताइएको छ ।
यहाँ विद्युत् चोरीका कुनै घटना नभए पनि प्राधिकरणले प्रणाली सुदृढीकरण गर्न सके चुहावटमा कमी ल्याउन सकिने कार्यालय प्रमुख इञ्जीनियर सोवितबहादुर क्षेत्रीले जानकारी दिए। जिल्लामा सबैभन्दा बढी तनहुँ जलविद्युत् आयोजनाले विद्युत् खपत गर्ने गरेको छ । आयोजनाले एक महिनामै रु २७ लाखदेखि ४६ लाखसम्म विद्युत् महसुल बुझाउने गरेको कार्यालय प्रमुख क्षेत्रीले बताए ।
विद्युत् चुहावटलाई न्यूनीकरण गर्न कार्यालयका तर्फबाट पनि पहलकदमी थालिएको छ । जिल्लामा आव २०७६÷७७ मा ९५ प्रतिशत विद्युतीकरण भएकामा आव २०७७÷७८ को असारमसान्तसम्म ९७ प्रतिशत जनशक्तिमा विद्युत् पहुँच पुगेको छ । जिल्लाको कछार भनेर चिनिने चितवनसँग जोडिएको देवघाट गाउँपालिकाका केही क्षेत्रमा विद्युत् जडानका कार्य बाँकी रहेको कार्यालय प्रमुख क्षेत्रीले बताए । जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका आयोजनाले काम गरिरहेकाले छिट्टै जिल्ला पूर्ण विद्युतीकरण हुनेमा विश्वस्त रहेको सो कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २१ साउन २०७८, १३ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्युत् प्राधिकरणको सञ्चालकमा दुई सदस्य नियुक्त
१५ दिनभित्र विद्युतको बक्यौता रकम नउठे प्रक्रिया अनुसार अघि बढ्छौँ : कुलमान घिसिङ
पत्रकार सम्मेलन गर्दै कुलमान घिसिङ
तिहारमा लोडसेडिङ हुँदैन : कुलमान घिसिङ
डेडिकेटेड र ट्रंक लाइन महसुलबारे प्राधिकरण सञ्चालक समिति अनिर्णित
राहुघाट जलविद्युत् आयोजनाअन्तर्गत मुख्य सुरुङको ‘ब्रेक थ्रू’