सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति फेरि बाढी आएको छ । शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ । रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए राति १२ः४० मा भवन ढलेर बगाएको जानकारी दिएको छ ।
यसअघि गत असार १ गते आएको भीषण बाढीले हेलम्बुु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो । त्यतिबेला नै बाढीमा डुबे पनि रेडियो मेलम्चीको भवन भत्किएको थिएन । बाढी घटेपछि रेडियोका सामान सुरक्षित स्थानमा सारेर वैकल्पिक माध्यमबाट रेडियो सञ्चालन गरिएको थियो ।
पुनः शनिबार राति आएको बाढीले रेडियोको भवन पनि भत्काएपछि ठूलो क्षति भएको अध्यक्ष भारतीले बताए । मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ ।
यसअघि हेलम्बु गाउँपालिका नाकोतेखोलामा बाढी आएको भन्दै मेलम्ची खोला तटीय क्षेत्रका बासिन्दालाई गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शनिबार राति नै सतर्क हुन अनुरोध गरेका थिए ।
यसैबीच हेलम्बुस्थित चनौटेको रातो पुलमाथिबाट अहिले पनि पानी बगिरहेको स्थानीय हस्त पण्डितले जानकारी दिएका छन । बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ ।
त्यस्तै ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ । नदीको सतह बढेपछि ग्यालथुम बजारसमेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । यसअघि असार १ गते आएको बाढीले पनि हेलम्बु र मेलम्ची लगायतमा ठूलो क्षति पुर्याएको थियो । सो बाढीका कारण ५ जनाको मृत्यु भएको थियो भने १५ जना अझै बेपत्ता छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ साउन २०७८, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती नदीमा छाडियो मेलम्चीको पानी
क्षमताभन्दा बढी भएको मेलम्चीको पानी वागमती नदीमा पठाइँदै
मेलम्चीको पानी आजदेखि काठमाडौं पठाइँदै
काठमाडौँमा दशैँ अघि नै मेलम्चीको पानी आउने
मेलम्चीमा आयो बाढी, अस्थायी पुल बगायो
आज मेलम्ची बन्द नहुने, सावधानी अपनाएर पानी पठाइँदै