कोभिडको जोखिमलाई ध्यानदिँदै जमुनाह नाकामा सुरक्षा सतर्कता अपनाइदै

सफल खबर संवाददाता

विहीबार, १४ साउन २०७८, १३ : ०९
कोभिडको जोखिमलाई ध्यानदिँदै जमुनाह नाकामा सुरक्षा सतर्कता अपनाइदै

राँझा । कोभिड–१९ को तेस्रो लहरको सम्भावित जोखिमलाई ध्यानदिँदै नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाहनाकामा सुरक्षा सतर्कता अपनाइएको छ ।भारतमा नयाँ डेल्टा भेरियन्ट भाइरसका सङ्क्रमित बढ्न थालेपछि रोजगारीका लागि त्यहाँ गएका नेपाली धमाधम स्वदेश फर्किन थालेका हुन् ।

स्वदेश फर्किएका नेपालीका सीमामा स्वास्थ्य जाँच थालिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक धीरजङ्ग शाहले जानकारी दिए । उनले भारतमा फैलिएको महामारी नेपालगञ्जमा  भित्रिन सक्ने अवस्थालाई ध्यान दिँदै उच्च सतर्कता अपनाएको बताए ।

नाकामा अहिले सीमावर्ती शहर रुपैडिहामा किनमेलका लागि जाने र स्वदेश  फर्किनेको भीड लाग्ने गरेको छ । दैनिकरूपमा नेपाली उपभोक्ता किनमेलका लागि भारतीय बजारमा पुग्दा कोभिडको उच्च जोखिम फेरि  बढ्न सक्ने उनले बताए । 

भारतबाट आउने व्यक्ति अधिकांश लुम्बिनी र कर्णाली प्रदेशका पहाडी जिल्लाका नागरिक हुन् । जमुनाहनाका हुँदै भारतबाट अहिले दैनिकरूपमा ५०० देखि ६०० को हाराहारीमा मजदुर नेपालगञ्ज भित्रिरहेको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी नायब निरीक्षक पूर्ण खत्रीले जानकारी दिए । उनका अनुसार दिल्ली, चण्डिगढ, गुजरात, मुम्बईजस्ता ठाउँमा काम गर्न पुगेका मजदुर अहिले फर्किरहेका छन् भने नेपालतर्फबाट पनि मजदुर भारततर्फ फर्किएका छन् । 
 

प्रतिक्रिया दिनुहोस