बाजा संरक्षणमा शाक्य समुदाय

शनिबार, ०१ बैशाख २०७५, १० : १३
बाजा संरक्षणमा शाक्य समुदाय

संखुवासभा । नेवारी समुदायको परम्परागत भजन र बाजागाजाको संरक्षणमा खाँदबारीको शाक्य समाज जुटेको छ । उनीहरु जन्मेदेखि मृत्युसम्मको संस्कारका भजन सिक्न थालेका छन् । समाजले नयाँ पुस्ताका युवालाई भेला पारेर सिकाउन थालेको छ ।

धर्म, संस्कृति, र बाजा जोगाउनका लागि आफूहरु लागेको समाजका अध्यक्ष किरण शाक्यले बताउनुभयो । “भजन र बाजा नजोगाएसम्म धर्म, संस्कृति र जातीय अस्तित्व जोगिँदैन”, उहाँले भन्नुभयो । बाजा बजाउने सीपको हस्तान्तरण युवा पुस्तामा हुन नसकेको समाजका उपाध्यक्ष जयन्द्र शाक्यले बताउनुभयो । युवा पनि बाजा बजाउनेतर्फ भन्दा अन्य क्षेत्रमा आकर्षित भएकाले धिमेलगायत विभिन्न स्थानीय बाजा लोप हुन लागेकाले यसलाई जोगाउन लागेको
उहाँले बताउनुभयो ।

खाँदबारीमा ३०० भन्दा बढी शाक्य समुदायको घरपरिवार छ । नेवार समुदायमा धिमे बाजा महत्वपूर्ण मानिन्छ । भजन र बाजाको संरक्षण गर्ने अभियानस्वरूप उनीहरूले धिमे बाजा र तबला बजाउन तथा भजन सिकिरहेका छन् । “यस पटकको बुद्धजयन्ती त्रिरत्न बुद्ध विहारमा मनाउन सबै भेला भएर भजन गाउँछौँ”, जयन्द्रले भन्नुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस