राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन

सफल खबर संवाददाता

बुधबार, १३ साउन २०७८, ११ : ५९
राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन

सिन्धुली । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीको इतिहास नेपाली सुरता र वीरताको परिचय रहेको बताएकी छन्।सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण गरेको युद्ध सङ्ग्रहालयको उद्घाटन कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपाली वीरताको गाथा बोल्ने सिन्धुलीगढीको पहिचान जोगाउने पक्षमा राम्रो कदम भएको बताइन्।

संग्रहालय नागरिक र सेनाको सम्बन्धको उत्कृष्ट नमूना रहेको बताउँदै उनले अनुसन्धानकर्ता, विद्यार्थी, स्वदेशी र विदेशीका लागि पर्यटकीय स्थल रहेकाले आथिर्क लाभ पनि लिन सक्ने बताइन्।उनले संग्रहालय निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिइन्।

सङ्ग्रहालयमा युद्धकालीन अवस्थाका पात्रहरु, सिन्धुलीगढी युद्धको टाइम लाइन, सेनाको नजरमा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्रहरु, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अंग्रेजहरुले प्रयोग गरेका तोप, नेपाली योद्धा, ब्रिटिस योद्धा, नेपाली योद्धाका कलाचित्र, मिथिला कला, बेलायतीहरुको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्तावेज तथा इतिहासका पुस्तक राखिएको छ।

सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको विसं २०७३ कात्तिक २४ गते तत्कालीन उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले शिलान्यास गरेका थिए।नेपाल एकीकरणका क्रममा विसं १८२४ अशोजमा सिन्धुलीगढीको युद्धमा काठमाडौँ कब्जा गर्न इष्टइन्डिया कम्पनीका कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अंग्रेज सेनालाई बंसु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएको जानकारहरु बताउँछन्।

प्रतिक्रिया दिनुहोस