एजेन्सी । भारतमा प्रशान्त किशोर कुनै ठुलो चर्चामा आएर नाम कमाएका व्यक्ति हैनन् न उनी कुनै ठुलो नेता हुन न त कुनै उद्योगी, व्यापारी । तर पनि उनको नाम भारतीय राजनितिज्ञहरुका लागि सम्झनयोग्य बनेको छ । प्रशान्त किशोर साधारण राजनीतिक परामर्शदाता होइनन् । उनको भनाईलाई आधार मान्ने हो भने उनी कुनै पनि टीभीमा समाचार विरलै हेर्छन्। पत्रिका पढ्दैनन्। इमेल लेख्दैनन्, कुनै टिपोट पनि राख्दैनन । उनले एक दशकयता ल्यापटप समेत प्रयोग गरेका छैनन्। उनले प्रयोग गर्ने एक मात्र ‘ग्याजेट’ भनेको फोन हो।
किशोरले बितेका तीन वर्षमा ८६ वटा ट्वीटरमा ट्विट लेखेका छन्। जहाँ उनका ५० लाख फलोअर्स छन्। ‘काम र जीवनबीच सन्तुलन हुनुपर्छ भन्ने कुरामा म विश्वास गर्दिनँ,’ उनी भन्छन्, ‘कामबाहेक कुनै पनि कुरामा मेरो रुचि छैन।’ किशोर भारतका सबैभन्दा प्रसिद्ध राजनीतिक परामर्शदाता तथा रणनीतिकार हुन्। यद्यपि आफ्नो यो चित्रण उनलाई मन पर्दैन। राजनीतिक नेताहरुलाई परिचालन गर्ने ‘हाइ–प्रोफाइल’ रणनीतिकारका रुपमा उनलाई चिनिन्छ। जसले चुनाव जित्ने र जनतालाई प्रभावित तुल्याउने कलामा सिद्धि हासिल गरेका छन्।
सन् २०११ यता किशोर र उनको कन्सल्टेन्सीले फरकफरक पार्टीको चुनावी अभियान सञ्चालन गरेका छन्। र, नौमध्ये आठ चुनावमा किशोरले सफलता हासिल गरेका छन्। उनको बायोपिक बनाउन डिज्नी, नेटफ्लिक्स र बलिउडका शाहरुख खानसम्मले प्रस्ताव गरेका छन्। ती सबै प्रस्तावलाई उनले अस्वीकार गरेका छन्।
किशोरले अनेक रुपरङका राजनीतिकर्मीलाई सफलता दिलाएका छन्। सन् २०१४ मा भाजपाका नरेन्द्र मोदीलाई पहिलो पटक सत्तामा पु¥याउनेदेखि लिएर उनको कट्टर विरोधी तृणमूल कंग्रेसकी ममता बनर्जीलाई गत मेमा तेस्रो पटक मुख्यमन्त्री जिताउनसम्म किशोरले सफलता पाएका छन्। किशोरका समर्थकहरु भन्छन्– उनीसँग यस्तो जादु छ, उनले जे छोयो, त्यही सुन बन्छ। उनका आलोचकहरु भन्छन्– किशोर साह्रै बाठा छन्, जित्ने सम्भावना भएकालाई मात्रै आफ्नो ग्राहक बनाउँछन्। गत मे महिनामा ४४ वर्षीय किशोरले परामर्शदाताको कामबाट आफू अघाइसकेको घोषणा गरे।
‘म यो ठाउँ खाली गर्दैछु,’ उनले भनेका थिए, ‘म अरु कुनै काम गर्न चाहन्छु।’ तर, पछिल्ला दिनहरुमा उनी फेरि खबरमा छाएका छन्। विपक्षी दलका प्रमुख नेताहरुसँग उनले हालै भेट गरेका छन्। कंग्रेसका नेता राहुल गान्धीलगायतलाई भेटेपछि उनले मोदीको भारतीय जनता पार्टीविरुद्ध गठबन्धन निर्माणको प्रयासमा सघाउन थालेको अनुमान गर्न थालिएको छ। कतिपयले त उनी कंग्रेस प्रवेश गर्ने अनुमान समेत गरेका छन्।
तर, ती सबै अनुमान निराधार रहेको किशोर बताउँछन्। ‘पक्कै पनि पहिले जे काम गरिरहेको थिएँ, त्यो अब म गर्दिनँ। मसँग केही विकल्प छन्, तर के गर्ने भन्ने निर्णय लिइसकेको छैन। राजनीतिसँग कुनै सम्बन्ध नभएको काममा लाग्ने सम्भावना पनि उत्तिकै छ। निर्णय लिनेबित्तिकै यसबारे औपचारिक जानकारी गराउनेछु,’ उनले भने। भारतमा तीन वर्षपछि आम चुनाव आउँदैछ। तर, विपक्षी दलहरु मोदीविरुद्ध चुनौती पेस गर्न संघर्ष गरिरहेका छन्। भाजपा मानिसहरुले मानेजत्तिकै अत्यन्त शक्तिशाली नभएको किशोरको विश्वास छ।
‘विद्यमान वा नयाँ दलका लागि आफ्नै भरमा वा अरु दलसँग मिलेर भाजपालाई चुनौती दिनसक्ने ठाउँ छ,’ उनी भन्छन् । १९८० को दशकको मध्यदेखि कंग्रेसले प्राप्त गरेको मत प्रतिशत ओरालो लाग्दै गएको छ। २०१९ को आम चुनावमा सो पार्टीले २० प्रतिशत मत पाएको थियो भने मात्र ५२ सिट जितेको थियो। उसले लगातार दोस्रो चुनाव हारेको थियो। तर, सो पार्टीसँग अझै संसदमा करिब सय सांसद छन् भने राज्यमा ८८० विधायक पनि छन्। भाजपासँग टक्कर लिनसक्ने सबैभन्दा ठूलो विपक्षी पार्टी कंग्रेस नै हो।
‘कंग्रेसमा के गडबडी छ, त्यसबारे टिप्पणी गर्न म कोही पनि होइन। म मात्र के भन्न सक्छु भने गएको दशकको चुनावी प्रदर्शनबाट जे देखिन्छ, कंग्रेसको समस्या त्योभन्दा निकै गहिरो छ,’ किशोर भन्छन्। नयाँ राष्ट्रिय पार्टी बनाउँछु भन्न सजिलो छ, गर्न अप्ठेरो। विपक्षी दलहरु मिलाएर तेस्रो गठबन्धन बनाउनु पनि सम्भव नभएको किशोर बताउँछन्।तथापि २०२४ मा लगातार तेस्रो जितको खोजीमा रहने भाजपा अपराजेय नभएको उनको विश्वास छ। ‘उचित रणनीति र प्रयासका माध्यमबाट भाजपालाई हराउन सकिन्छ। यसका पर्याप्त विकल्प र उदाहरण छन्,’ उनले भने।
भारतमा जतिसुकै लोकप्रिय भए पनि चुनाव जित्ने पार्टीले ४५ प्रतिशतभन्दा बढी मत नपाउने उनले बताए। २०१९ मा भाजपाले ३८ प्रतिशत मत पाएको थियो। जसका भरमा उसले तीन सयभन्दा बढी सिट जितेको थियो।पूर्वी र दक्षिण भारतमा भाजपाले करिब दुई सय सिटमध्ये २० प्रतिशत पनि जित्न नसकेको किशोर बताउँछन्। जहाँ क्षेत्रीय पार्टीहरुले भाजपालाई रोकेर राखेका छन्। बाँकी करिब ३४० सिट उत्तर र पश्चिम भारतमा पर्छन्। जहाँ भाजपा शक्तिशाली छ। भाजपालाई चुनौती दिने पार्टीले यो क्षेत्रमा करिब डेढ सय सिट जित्नुपर्ने किशोरको भनाइ छ।
किशोरको कामगराइबाट भारतजस्ता मुलुकमा राजनीतिक परामर्शदाता कम्पनीले कसरी काम गर्छन् भन्ने देखिन्छ। उनको कम्पनी इन्डियन पोलिटिकल एक्सन कमिटी (आईपीएसी) जुन पार्टीका लागि काम गर्ने हो, त्यहीसँग जोडिन्छ। चुनावताका कम्पनीमा करिब ४ हजार मानिसले काम गर्छन्।‘चुनाव जित्न एउटा पार्टीले जे गर्नुपर्छ, त्यो काममा हामी सघाउँछौँ र त्यो कामलाई कयौँ गुणा बढाउँछौँ,’ किशोर भन्छन्, ‘हामीले नतिजामा केही फरक ल्याउँछौँ तर ठ्याक्कै कति, भन्न गाह्रो छ।’
भारतको चुनावी राजनीतिमा एक दशक काम गरिसकेपछि किशोरले निकालेका निष्कर्ष यस्ता छन्ः चुनावी अभियानमा उच्च सहभागिता हुँदैमा नतिजामा केही असर पर्दैन। चुनाव महंगो हुँदै गएकाले राजनीतिमा प्रवेश गर्नु कठिन हुँदैछ। र, भारतको राजनीति र समाज बढ्दो रुपमा ध्रुवीकृत हुँदैछ। उसोभए ८० करोडभन्दा बढी भारतीय मतदाताले केलाई हेरेर उम्मेदवार वा दल रोज्छन् त ?
‘कल्याणकारी कार्यक्रम, पहिचान, सशक्तीकरण, पहुँच। म अनुमान लगाउन सक्दिनँ,’ किशोर भन्छन्, ‘म कहिल्यै पनि मतदाताको चाहना अनुमान लगाउने कोसिस गर्दिनँ। म त मात्र मानिसहरु के भनिरहेका छन्, त्यो पत्ता लगाउने प्रणाली विकास गर्ने प्रयास गर्छु ।’
प्रतिक्रिया दिनुहोस
सुमनराज श्रेष्ठ
बुधबार, १३ साउन २०७८, १० : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो
भारतमा चक्रवाती आँधी 'दाना' को चेतावनी
भारतबाट आयातित १२ टन दाल अखाद्य भएको पत्ता लागेपछि उतै फिर्ता
सीमा विवाद समाधान गर्न भारत र चीन तयारः सेना फिर्ता र गस्ती व्यवस्थापनमा सहमत
भारतले प्यालेस्टाइनका लागि ३० टन खाद्यान्न र औषधि सहयोग पठायो
भारतको बुलन्दशहरस्थित एउटा घरमा विस्फोट, ६ जनाको मृत्यु