साथीबाट मारिए सैनिक हवल्दार भरत !

सफल खबर संवाददाता

शुक्रबार, ०८ साउन २०७८, १६ : ३८
साथीबाट मारिए सैनिक हवल्दार भरत !

चितवन । विश्वास पनि अब कसको गर्ने ? आफ्नै साथीबाट मारिएका छन् सैनिक हवल्दार भरत गुरुङ ।  भरतपुर–१७ मा मृत भेटिएका सैनिक हवल्दार भरतको हत्या आरोपमा उनकै साथी पक्राउ परेपछि जो कोहीलाई पत्याउन मुस्किल भइरहेको छ । सँगै खाने, बस्ने, घुम्ने साथीबाटै यस्तो हर्कत, मानिसहरु पत्याउन सकिरहेका छैनन् । 

चितवन प्रहरीले आज पत्रकार सम्मेलन गरी दि फेमस महिन्द्र दल गण शिवपुरीमा कार्यरत सिपाही भरत आफ्नै साथी भरतपुर–२१ का गंगाधर ढकालबाट मारिएको जनाएको छ । ढकाललाई भरतपुर–२० चनौलीबाट चितवन प्रहरीले पक्राउ गरेको छ । 

धादिङ नीलकण्ठ– १३ निवासी ३६ वर्षका भरत जग्गा पासका लागि चितवन आउनुपर्ने खबर आफ्नो साथी गंगाधरलाई गरेका थिए। गंगाधर आफैँ आफ्नो साथी भरतलाई लिन काठमाडौं नै पुगेका थिए । दुबै जना मोटरसाइकलमा काठमाडौँबाट चितवन आएर होटलमा बसेका थिए । 

भरतको माइला बुबाको घर शारदानगरमा छ । भरत र गंगाधर दुबै माइला बुबाको घरमा झोला राखेर केहीबेर मोटरसाइकलमा घुम्न निस्केका थिए । पिसाव फेर्ने बहानामा सुनसान ठाउँमा मोटरसाइकलबाट झरेपछि गंगाधरले भरतलाई गोली हानेर हत्या गरी कुलोमा फालेको चितवन प्रहरीले जनाएको छ । हत्यामा प्रयोग भएको एसएमजी बन्दुक बीसहजारी ताल गेटनजिकबाट प्रहरीले फेला पारेको थियो । 

प्रतिक्रिया दिनुहोस