गोदावरी नगरपालिका बन्यो स्काउट दिक्षान्त गर्ने पहिलो स्थानीय तह

सफल खबर संवाददाता

शुक्रबार, ०८ साउन २०७८, १३ : ५२
गोदावरी नगरपालिका बन्यो स्काउट दिक्षान्त गर्ने पहिलो स्थानीय तह

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका नगर प्रमुख, उपप्रमुख र शिक्षाशाखा प्रमुखलाई स्काउटको दिक्षान्त गर्ने पहिलो नगरपालिका भएको छ । देशैभरका ७ सय ५३ स्थानीय तहमा स्काउट बिस्तार भएपनि अहिलेसम्म कुनैपनि स्थानीय तहले स्काउटको दिक्षान्त कार्यक्रम आयोजना गरेका थिएनन् ।

ललितपुरको गोदावरी नगरपालिकामा रहेको नगर स्काउटले नगर प्रमुख सहित उपप्रमुख र शिक्षा शाखा प्रमुखलाई दिक्षान्त गरेको हो । नगर स्काउटले  एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख गजेन्द्र महर्जन, उप्रमुख मुना अधिकारी तथा नगर शिक्षा शाखा प्रमुख देवी प्रसाद उपाध्यायलाई दिक्षित गरेको हो । दिक्षित पदाधिकारीहरुलाई नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।

भण्डारीले ओली नेतृत्वको सरकारले देशभरका सबै सामुदायिक विद्यालयहरुमा स्काउटको विकास र विस्तारका लागि नितिगत रुपमा निर्णय गरेर प्रक्रिया अगाढी बढाएको बताउदै नयाँ सरकारले त्यसको सफल कार्यन्वयनका लागि जोडदिनु पर्ने बताए ।

नगर प्रमुख महर्जनले स्थानीय तहमा स्काउटको अधिकार आएसंगै यसको विस्तार र विकासमा अवसर र चुनौती उत्तिकै रहेको बताए । उनले भावी दिनमा नगर भित्र रहेका सबै विद्यालयहरुमा स्काउट युनिट स्थापनाको लागि नगरपालिकाको योजना रहेको खुलासा गरे । महर्जनले नैतिक शिक्षा र अनुशासन सिकाउने मुख्य खम्बाको रुपमा स्काउटले भूमिका खेलेको बताए । स्काउटको विकासका लागि गोदावरीले यो आर्थिक वर्ष १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस