भारतले नेपाललाई दियो १५० आइसीयू बेड

सफल खबर संवाददाता

आइतबार, ०३ साउन २०७८, १५ : ५२
भारतले नेपाललाई दियो १५० आइसीयू बेड

काठमाडौं । भारतले नेपाललाई अनुदानस्वरुप १ सय ५०आइसीयू सहयोग गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रममा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भारतीय राजदूत विनयमोहन क्वात्राले आइसीयु हस्तान्तरण गरेका हुन् । 

आइसीयू हस्तान्तरण कार्यक्रममा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोरोना महामारीसँग जुध्न भारत लगायत अन्य छिमेकी राष्ट्रलाई सहयोग गर्न आग्रह गरे । भारत र नेपालबीचको सम्बन्ध छिमेकीको मात्रै नभएर जनता–जनता बीचमा समेत निकट सम्वन्ध रहेको उनले बताए । कोरोनाभाइरस कोभिड १९सँग जुध्नका लागि भारतसँग अझै सहयोगको अपेक्षा गरेको उनले बताए ।

यस्तै आइसीयू हस्तान्तरण गर्दै भारतीय राजदूत क्वात्राले कोभिड—१९ विरुद्ध लड्न नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । कार्यक्रममा १० लाख कोभिशिल्ड खोप भारतले नेपाललाई कहिले उपलब्ध गराउँछ भन्ने पत्रकारको प्रश्नमा भने क्वात्राले स्पष्ट जवाफ दिएनन् ।

प्रतिक्रिया दिनुहोस