आज जनकपुर–जयनगर रेल्वेको ‘ट्रयाक स्पीड’ परीक्षण गरिने

सफल खबर संवाददाता

आइतबार, ०३ साउन २०७८, ०८ : २२
आज जनकपुर–जयनगर रेल्वेको ‘ट्रयाक स्पीड’ परीक्षण गरिने

काठमाडौं । लामो समय देखि सञ्चालनको प्रतीक्षामा रहेको जनकपुर–जयनगर रेल्वे सेवाको ‘ट्रयाक स्पीड’ परीक्षण गरिदैछ । रेल खरिद गरी ल्याइएको दश महिनापछि ‘ट्रयाक स्पीड’ परीक्षण गर्न लागिएको हो ।

जयनगर (भारत)-जनकपुर-कुर्था रेल्वे ट्रयाकमा आइतवार भारतको इस्ट-सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा स्पिड टेस्ट गरिने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले बताए ।

महाप्रबन्धक भट्टराईका अनुसार भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा स्पिड टेस्ट गरिने छ। स्पिड टेस्ट गर्दा रेलको स्पिड प्रतिघण्टा १२० किमी हुने भएकोले रेल्वे ट्रयाक वरपर सुरक्षा व्यवस्था कडा पारिने उनले बताए।  

न्यारोगेजमा सञ्चालन हुँदै आएको जयनगर–जनकपुर रेल ब्रोडगेजमा चलाउन गत वर्ष असोजमा परीक्षण सेवा सुरु गरिएको थियो। न्यारोगेजमा चल्ने रेल बन्द भएको झन्डै ६ वर्षपछि ब्रोडगेजमा रेल चलाउन लागिएको हो, जुन नेपालको इतिहासमा पहिलो हो।

प्रतिक्रिया दिनुहोस