श्रम स्वीकृति लिने नेपालीको संख्या घट्यो ,रेमिट्यान्स बढ्यो

सफल खबर संवाददाता

विहीबार, ३१ असार २०७८, १२ : २३
श्रम स्वीकृति लिने नेपालीको संख्या घट्यो ,रेमिट्यान्स बढ्यो

काठमाडौं । राष्ट्र बैंकले विप्रेषण आप्रवाह (रेमिट्यान्स) १२.६ प्रतिशतले वृद्धि भई ८७० अर्ब ९४ करोड पुगेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३.२ प्रतिशतले घटेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । 

यसैगरी अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले घटेको थियो ।समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ५९ प्रतिशतले घटेको पनि राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १२.४ प्रतिशतले घटेको थियो ।

यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४७.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३१.१ प्रतिशतले घटेको राष्ट्र बैंकको चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकमा उल्लेख छ । समीक्षा अवधिमा खुद ट्रान्सफर ११.४ प्रतिशतले वृद्धि भई रु.९७१ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.९ प्रतिशतले घटेको थियो ।

व्यापार घाटा १२६२ अर्ब ११ करोड पुग्यो, यस्तो छ आयात र निर्यातको अवस्था

आर्थिक वर्ष २०७७/७८ को एघार महिनामा कुल वस्तु निर्यात ३७.८ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महिनाको तथ्यांकमा वस्तु निर्यात बढेर १२१ अर्ब २५ करोड पुगेको उल्लेख गरिएको हो । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ०.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ४३.३ प्रतिशत र २५.९ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा १७.४ प्रतिशतले कमी आएको छ । 

वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, धागो ( पोलिष्टर तथा अन्य), जुटका सामान, ऊनी लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतका वस्तुको निर्यात घटेको राष्ट्र बैंकको भनाइ छ । 

यसैगरी आर्थिक वर्ष २०७७/७८ को एघार महिनामा कुल वस्तु आयात २५.७ प्रतिशतले वृद्धि भई रु.१३८३ अर्ब ३६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १५.३ प्रतिशतले घटेको थियो । 

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३२.२ प्रतिशत, २४.० प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, चामल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपुर्जा, कोल्डरोल्ड शिट इन्क्वाइल, चाँदी लगायतका वस्तुको आयाततर्फ घटेको छ । 

निर्याततर्प तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ तातोपानी र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ । 

आर्थिक वर्ष २०७७/७८ को एघार महिनामा कुल वस्तु व्यापार घाटा २४.६ प्रतिशतले वृद्धि भई रु.१२६२ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १६.४ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात . प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.० प्रतिशत रहेको थियो ।


 

प्रतिक्रिया दिनुहोस