राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरुको माग पुरा

सफल खबर संवाददाता

बुधबार, ३० असार २०७८, १७ : ०३
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरुको माग पुरा

काठमाडौं । लामो समयदेखि भत्ता नपाएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरुको माग पुरा भएको छ ।दुर्गममा गएर काम गरेका उनीहरुले विगत १ वर्षदेखि पाउनुपर्ने भत्ता लगायतका पारिश्रमिक नपाएको गुनासो अर्थमन्त्री जनार्दन शर्मासम्म पुगेपछि उनले तत्काल समस्या समाधान गरेका हुन् । 

अर्थमन्त्री शर्माको निर्देशनपछि बुधबार उनीहरुलाई रकम भुक्तानी गर्न ८ करोड ३४ लाख ९४ हजार रुपैयाँ निकासा भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य डा हरि पराजुलीले जानकारी दिए । कोरोना महामारीको प्रतिकुल परिस्थितिमा काम गरेका इन्जिनियरहरुको माग सम्बोधन भएसँगै उनीहरुलाई काम गर्न थप हौसला मिल्ने प्राधिकरणले विश्वास लिएको छ । 

इन्जिनियरहरुको माग सम्बोधनका लागि डा.पराजुली अर्थ मन्त्रालयमा फाइल बोकेर बुधबार पुगेका थिए भने लगत्तै शर्माले मातहतको निकायलाई आवश्यक रकम भुक्तानी गर्न निर्देशन दिएका थिए । 

निकासा भएको रकम ३ हजार ६४ जना इन्जिनियर तथा प्राविधिकलाई भुक्तानी गरिनेछ । यसअघि आफूहरुले पाउनुपर्ने सेवा सुविधाको माग गर्दै पटक पटक करारका ती इन्जिनियरहरुले आन्दोलन गर्दै आएपनि माग सम्बोधन हुन सकेको थिएन।

प्रतिक्रिया दिनुहोस