चितवनकी सुजिता भण्डारीको रहस्यमय मृत्युमा गम्भीर छानविनको माग

‘अविलम्ब कानुनी कठघरामा उभ्याउ’

सफल खबर संवाददाता

बुधबार, ३० असार २०७८, १० : ५०
चितवनकी सुजिता भण्डारीको रहस्यमय मृत्युमा गम्भीर छानविनको माग

चितवन । जिल्ला स्थित राप्ती नगरपालिका ३ कि सुजिता भण्डारीको सहस्मय ढंगले भएको मृत्युमा गम्भीर आशंका उत्पन्न भएको भन्दै विभिन्न दल निकट राप्ती नगर कमिटिले गम्भीर अनुसन्धान गर्न प्रशासन समक्ष माग गरेका छन् । 

काँग्रेस, एमाले, माओवादी र राप्रपाका नगर अध्यक्षहरुले संयुक्त रुपमा विज्ञप्ती निकाली हत्या प्रकरणको गहिरो र गम्भीर अनुसन्धान मार्फत दोषीलाई अविलम्ब कानुनी कठघरामा ल्याउन माग गरेका छन् । विज्ञप्तीमा भनिएको छ,‘९ दिन सम्म नभेटिनु, कसैको नियन्त्रण र अपहरणमा परेको सूचना उनले दिएपछि पनि खोज अनुसन्धानले परिणाम हासिल नगर्नु र अन्तिममा जंगलमा मृत शरिर भेटिनुले अनेक प्रश्न उब्जिएको छ ।’

उनीहरुले घटनामा संलग्न दोषीलाई सुक्ष्म ढंगले अनुसन्धान गरि कानुनको कठघरामा उभ्याउन जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय भण्डाराको ध्यानाकर्षण गराउदैं सरकारसंग माग गरेका छन् ।  विज्ञप्तीमा उनीहरुले देशको विभिन्न भागमा महिला उपर अनेक प्रकृतिका हिंसा र हत्याका घटना पटक पटक हुने गरेकाले यो प्रवृत्तिलाई निरुत्साहित गर्न र सामाजिक परिवर्तनका लागि गम्भीर राष्ट्रिय विमर्शमा सबै एकजुट हुनुपर्ने बेला आएको समेत औंल्याएका छन् ।

घटनालाई लिएर जारी गरेको विज्ञप्तीमा काँग्रेस सभापति नारायण उप्रेती, एमाले अध्यक्ष सुमिता डल्लाकोटी, माओवादी अध्यक्ष रामचन्द्र पाठक र राप्रपाका अध्यक्ष गोपाल प्रसाद पाण्डेले संयुक्त हस्ताक्षर गरेका छन् । असार २० गते भण्डारीको शव ब्रम्हस्थानी सामुदायीक बनमा युवतीको शव फेला परेको थियो ।

जंगलमा च्याउन टिप्न गएका स्थानियहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । असार ११ गते विहान ६ बजे साथिको घर जाने भनेर हिडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन । उनले सोही दिन १२ बजे आफ्नी दिदीलाई फोन गरेर अपहरणमा पारेको बताएको परिवारका सदस्यले भनाई रहेको छ । 

प्रतिक्रिया दिनुहोस