काठमाडौं । अन्तराष्ट्रिय बजारमा मूल्यवृद्धि भएको दावी गर्दै नेपाल आयल निगमले लगातार इन्धनको मूल्यवृद्धि गरेको छ । निगम चलाउने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारीमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल मन्त्री छन् ।
उनी पदमा हुनु र नहुनुले आर्थिक चलखेल के कति मात्रामा हुन्छ र हुने गरेको छ भन्ने कुरा स्पष्ट हुन जान्छ । जसरी भएपनि उपभोक्तालाई मार र जसरी भएपनि पैसा कमाऊ भन्ने मान्यता राख्ने विशेष क्षमता र कौशलका धनीका रुपमा पौडेल नेपालको राजनीतिमा परिचित छन् । मिठो बोल्ने, तर व्यवहारमा जनविराधी हर्कत गर्न असाध्यै सिपालु पात्रका रुपमा उनको नाम आउने गर्दछ ।
यस्तै, निगमका प्रमुख रहेका सुरेन्द्र पौडेलले मासिक रुपमा यतिसम्म बुझाउन सक्छु भनेरै कबूल गरेको समेत आम रुपमा स्थापित छ । इन्धनको मूल्य बढ्दा त्यसले चौतर्फी रुपमा प्रभाव पार्दछ । अधिकांश सामानमा मूल्य बढ्ने जान्छ । अर्थतन्त्रको चक्रमा समेत यसले प्रभाव पार्दछ । तर, यो कुराको सामन्य हिसाब किताब समेत नगरेर पछिल्लो एक वर्षको बीचमा मात्रै ३३ रुपैयाँ भन्दा बढी मूल्यवृद्धि गरिएको छ । किनकी, निगमले आयात गर्ने इन्धनमा लागत मूल्यकै हाराहारीमा कर तिर्नुपरेको छ । कर जति सबै उपभोक्ताको टाउकोमा हाल्ने गरिएको छ ।
निगमका अनुसार उसले ६६.५७ पैसामा खरिद गरेको पेट्रोलमा ५६.६१ कर लिन्छ । त्यसमा भन्सार शुल्क २५.२ तिर्नुपर्छ । भन्सार सेवा शुल्क ०.०२५, सडक मर्मत शुल्क ४, प्रदुषण शुल्क १.५,पिएसएफ १.१ र पूर्वाधार कर मात्रै १० रुपैयाँ तिर्नुपर्छ । यस्तै, पेट्रोल पम्पलाई दिइने कमिसन समेत उपभोक्तालाई नै परेको छ ।
यी र यस्ता सबै करको भार उपभोक्ताको टाउकोमा नै पर्ने गरेको छ । यस्तै, भ्याट समेत उपभोक्ताले नै तिर्नुपर्छ । करै करका कारण उपभोक्ताले सधै महंगोमा पेट्रोलियम पदार्थ खरिद गर्नुपरेको छ । यस्तै अवस्था छ डिजलमा पनि । भन्सार १२, भन्सार सेवा शुल्क ०.०२५, सडक मर्मत शुल्क २, प्रदुषण शुल्क १.५, पिएसएफ ०.९३, पूर्वाधार कर १० उपभोक्ताले व्योहोर्नु परेको छ । यस्तै भ्याट पनि उपभोक्ताको टाउकोमा नै पर्छ । यस्तै, पेट्रोल पम्पको कमिसन समेत उपभोक्ताले नै तिर्नुपरेको छ । यी सबै कारणले गर्दा पेट्रोलियम पदार्थको मूल्य बढी तिर्नुपरेको छ ।
हालका अर्थमन्त्री पहिलो पटक अर्थमन्त्री हुँदा बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्ने भन्दै पेट्रोलियम पदार्थमा ५ रुपैयाँ कर लगाए । उक्त कर वापत झण्डै ६० अर्ब बढी रकम जम्मा भइसकेको छ । सो रकम राज्यकोषमा जम्मा हुने गरेको भएपनि कुन प्रयोजनाका लागि खर्च भयो र कहाँ सदुपयोग भन्ने प्रश्नको उत्तर दिने हैसियतमा सरकार छैन ।
निकी, यसलाई जनताको विषय भन्दा पनि कसरी राज्यकोषको दोहन गर्ने भन्ने बारेमा समेत कुनै चासो तथा चिन्ता नै छैन भन्दा हुन्छ । करको भार उपभोक्तालाई बोकाएपनि बुढीगण्डकी हालसम्म पनि अगाडि बढेको छैन । त्यसमा पनि रणनीतिक स्वार्थ लुकेको छ । किनकी, भारतीय योजना अनुसार नै ओलीले सो आयोजना बनाउन दिएका छैनन् ।
यस्तै, हाल अमेरिकका लागि राजदूत रहेका डा युवराज खतिवडाले पूर्वाधार करको नाममा थप ५ रुपैयाँको भार थपिदिए । सो भार थपिदा पूर्वाधार कर वापत मात्रै प्रतिलिटर १० रुपैयाँ उपभोक्ताले तिर्नुपरेको छ । पूर्वाधार कर वापत कति पैसा उठ्यो भन्ने बारेमा सरकारले हालसम्म कुनै पनि जानकारी दिएको छैन ।
निरन्तर मूल्य बढाएको निगमले एक वर्षको अवधिमा मात्रै प्रतिलिटर पेट्रोलको मूल्य ३३ रुपैयाँले बढेको छ । गत वर्षको असार १६ गतेबाट निरन्तर मूल्य बढाएको निगमले असार २२ गतेसम्म आइपुग्दा ३३ रुपैयाँले बढाएको छ । यसरी लगातार मूल्य बढ्दा हाल पेट्रोल प्रतिलिटर १२९ रुपैयाँ कायम भएको छ । निगमले आफू घाटामा गएको भन्दै गत वर्षको असार १६ गते ९६ रुपैयाँ मूल्य रहेको पेट्रोलमा ५ रुपैयाँले बढाएर १०१ रुपैयाँ कायम गरेको थियो । उक्त मुल्यमा निरन्तर २ रुपैयाँको बढाएर १ सय २९ रुपैयाँ मूल्य कायम भएसँगै उपभोक्ता नराम्ररी मारमा परेका छन् ।
त्यस्तै, डिजेल पनि एक वर्षको अवधिमा निगमले डिजेलको मूल्य प्रतिलिटर २७ रुपैयाँले बढेको छ भने मट्टितेलको मूल्यमा भने २ रुपैयाँले मात्रै बढेको देखिन्छ ।एकातिर निगमले अन्तर्राष्ट्रिय बजारको मूल्यको आधारमा निरन्तर मूल्य बढाएको छ भने अर्को निगमले १५ दिनमै १ अर्ब १० करोड घाटा व्यहोरेको दावी गरेको छ । लगातार घाटा भएको दावी गर्ने निगमले चुहावट नियन्त्रण तथा अनेक स्वरुपमा लागेको कर घटाउनेतर्फ हालसम्म कुनै पहल गरेको छैन ।
निगमले सधै पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार निगमलाई इग्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य अनुसारभाऊ बढाएको दावी गर्छ । कोभिड निषेधाज्ञाको समयमा भएको बिक्री परिमाणलाई आधार मान्दा १५ दिनमा मात्रै निगमलाई करिब १ अर्ब १० करोड ५० लाख रुपैयाँ घाटा व्यहोरेको कथित दावी गरेको छ । घटदा नघटाउने तथा बढ्दा मात्रै बढाउने उसको चालबाजीलाई उपभोक्ताले राम्ररी नै बु्झेका छन् ।
निगमका अनुसार पछिल्लो तीन वर्षको अवधिको तुलना गर्दा हाल कच्चा तेलको मूल्य उच्च रहेको जनाएको छ ।निगमले हालै समायोजन गरेको मूल्य अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ७.४५ डिजेलमा प्रतिलिटर ४.३५ तथा एलपी ग्याँसमा प्रति सिलिण्डर ३१९.३२ रुपैयाँ घाटा रहेको कुतर्क गर्ने गरेको छ । त्यसमा उक्त समायोजन गरेपछि हाल निषेधाज्ञा समयको बिक्री परिमाण अनुसार १५ दिनमा करिब ९१ करोड ३५ लाख रुपैयाँ घाटा हुने देखिएको पटक पटक दोहो¥याएको छ ।
त्यस्तै एलपी ग्याँस तथा डिजेलको कारोबारबाट मात्रै क्रमशः करिब ४७ करोड तथा करिब ३१ करोड घाटा हुने अवस्था रहेको निगमले जनाएको छ । साथै, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलमा भइरहेको दैनिक मूल्य वृद्धिको चाप नेपाली बजारमा पनि स्वत पर्ने हुँदा आउदा दिनहरूमा अझ संकट आउने र मूल्य वृद्धि हुने उनले अनुमान गरिएको छ । हाल मूल्य बढाएर पनि घाटाको रकम केही मात्राले घट्ने जिकिर निगमले गरिरहेको छ ।
नेपाल पेट्रोलियम पदार्थमा अन्तर्राष्ट्रियमा पूर्ण निर्भर रहेको तथ्य कोही कसैबाट छिपेको छैन । तर त्यसैलाई नै बाहना बनाएर उपभोक्ताको ढाड भाँच्ने योजनामा ओली, पौडेलहरु लगेका छन् । किनकी उनीहरुका लागि जनता भनेका केवल रैती नै हुन । उनीहरुले केवल हुकुम मात्रै मान्नु पर्छ । छन् । विदेशी बजारका आधारमा मूल्य निर्धारण हुने भएकाले यसमा निगमले केही गर्न नसक्ने पनि दावी गरिन्छ । यो समेत सहजै मिल्ने र हुने कुरा होइन ।
त्यस्तै, चालु आवसम्ममा निगमले करिब ४ अर्बको घाटा व्यहोर्नसक्ने भन्दै हल्ला चलाइएको छ । तर, उपभोक्तालाई गरेको ज्यादतीको सामान्य नैतिकता समेत देखाउन सकेको छैन । बरु निगमले १५ दिनमै १ अर्बभन्दा बढी घाटा व्यहोर्न बाध्य भएको कथित दावी पेश गरिएको छ । हालसम्मको अवस्था हेर्दा चालु आवसम्ममा ४ अर्बको घाटा हुने देखिन्छ,’ उनले भने । साथै, निगमका अनुसार पेट्रोलियम पदार्थमा आगामी दिनमा अझै मूल्य वृद्धि हुन सक्ने भन्दै स्थितीलाई थप उत्तैजक बनाउने प्रयास गरिएको छ ।
तर इन्धनमा लाग्दै आएको करको दर मात्रै झण्डै दर्जन हाराहारीमा रहेको छ । मूल्य अभिवृद्धिर कर, वातावरण कर, पूर्वाधार कर, डिलर कमिसन समेत ग्राहकले नै व्योहोर्नुपर्छ । करै करको बोझ बोकाएर सधै उपभोक्ताको मात्रै ढाड सेक्ने काममा निगम लागेको भन्दै आलोचना भएपनि त्यसलाई घटाउने तर्फ कुनै पहल भएको छैन । तस्करी रोक्न सरकार पूर्ण रुपमा असफल नै भएको छ । कर उठाउने मात्रै ध्याउन्नमा लागेको सरकारले केही कर घटाउने हो वा छुट दिने हो भने मात्रै पनि पेट्रोलिय पदार्थको मूल्य केही कम हुन जान्छ । तर, यसतर्फ हालसम्म कुनै पनि सरकारले सोचेको समेत छैन, कार्यान्वयन त झनै परको कुरा जस्तो भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ असार २०७८, २० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल आयल निगम रूपन्देहीको प्रादेशिक इन्धन डिपोको डीपीआर अन्तिम चरणमा
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
पेट्रोलको मूल्य बढ्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो
नेपाल आयल निगमले माग्यो विभिन्न पदका लागि कर्मचारी (सूचना सहित)
पेट्रोलियम पदार्थको मूल्य घट्यो