गण्डकी सरकारले भ्रष्टाचारको सुरुवात गरिसकेको छ : पूर्वमुख्यमन्त्री गुरुङ

सफल खबर संवाददाता

शनिबार, २६ असार २०७८, १८ : ३१
गण्डकी सरकारले भ्रष्टाचारको सुरुवात गरिसकेको छ : पूर्वमुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेको सरकारले भ्रष्टाचारको सुरुवात गरिसकेको आरोप लगाएका छन।एमाले संसदीय दल गण्डकी प्रदेशले पोखरामा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वमुख्यमन्त्री गुरुङले कांग्रेसको नेतृत्वको प्रदेश सरकारले गैरबजेटरी रकममार्फत भ्रष्टाचारको सुरुवात गरेको बताए । उनले विना योजना विभिन्न क्षेत्रमा रकम खर्च गर्ने बताइरहेको प्रदेश सरकारले कार्यकर्तालाई रकम बाँडेको आरोप लगाए ।

यसअघि एमाले नेता गुरुङ नेतृत्वको प्रदेश सरकारले जाँदा जाँदै विना योजनाका ४ अर्ब ५१ करोड रुपैयाँ रकम बराबरको ठेक्का लगाएको आरोप पोखरेल नेतृत्व सरकारले लगाएको थियो । सरकारको आरोपको खण्डन गर्दै गुरुङले सबै ठेक्का कानुन बमोजिम लगाइएको दाबी गरे । आफ्नो नेतृत्वको सरकारले सबै कामकारबाही खुला र पारदर्शी रूपमा गरेको उनको भनाइ छ ।

गुरुङले साढे चार अर्बको ठेक्का प्रक्रिया अगाडि बढाए पनि कानुनविपरीत नरहेको बताए । ठूलो रकमको योजनाका लागि ठेक्का लगाएको गत २२ असारमा सार्वजनिक भएको थियो । बजेटमै नभएका योजना टेण्डर गरेको भन्दै निवर्तमान मुख्यमन्त्री गुरुङमाथि प्रश्न उठेको थियो । नेता गुरुङले टेण्डरमा लगाइएका योजना रणनीतिक सडक योजना, एक निर्वाचन क्षेत्र एक सडक, समपुरक अनुदानअन्तर्गतको रहेको बताए ।

प्रतिक्रिया दिनुहोस