एजेन्सी । थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न सिनावत्राले बिहीबार गाजामा एक वर्षभन्दा बढी समयदेखि बन्धक बनाइएका पाँच थाई नागरिकको रिहाइमा हर्षित भएको बताएकी छन् ।
सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी उग्रवादी समूह हमासले इजरायलमा आक्रमण गर्दा थाईहरू अपहरणमा परेका थिए । उनीहरूलाई गाजा युद्धविरामअन्तर्गत बन्धक–कैदी आदानप्रदानको भागका रूपमा रिहा गरिएको हो ।
इजरायली प्रधानमन्त्रीको कार्यालयका अनुसार रिहा गरिएका पाँच थाई नागरिक वाचारा श्रीउन, पोङ्गसाक तन्ना, साथियान सुवान्नाखम, सुरासक लामनाउ र बन्नावत सेथाओ हुन् ।
‘इजरायलस्थित हाम्रा थाई राजदूतले भर्खरै फोनमार्फत पाँचजना थाई नागरिक आज गाजाबाट रिहा भएको पुष्टि गरेकोमा म हर्षित छु,’ पेटोङटार्नले आफ्ना विभिन्न आधिकारिक सामाजिक सञ्जाल खाताहरूमा अंग्रेजीमा प्रकाशित विज्ञप्तिमा भनिन्, ‘थाई सरकार र थाइल्यान्डका सबैजना यो क्षणको लामो समयदेखि प्रतीक्षामा थियौँ ।’
उनले बन्धकहरूको रिहाइका लागि कतार, इजिप्ट, इरान, टर्की र संयुक्त राज्य अमेरिकाले गरेको प्रयासको गहिरो सराहना गर्दै इजरायललाई उनीहरूको हेरचाह गरेकामा धन्यवाद दिइन् ।
थाई विदेश मन्त्रालयका अनुसार पाँच जनालाई उपचारका लागि अस्पताल लगिएको छ ।
‘थाइल्यान्डले थाई नागरिकसहित सबै बाँकी बन्धकलाई चाँडै रिहा गर्न आह्वान गर्दछ, ताकि तिनीहरू सुरक्षित रूपमा आफ्नो मातृभूमि र आफ्ना प्रिय परिवारहरूमा फर्कन सकून्,’ मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ ।
हमासले इजरायलमाथि आक्रमण गर्दा कुल ३१ थाई नागरिक बन्धक बनाइएका थिए । तीमध्ये २३ जना सन् २०२३ को अन्त्यसम्ममा रिहा भएका थिए भने गत मे महिनामा दुईजनाको मृत्यु भएको पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ माघ २०८१, ०७ : २९
लेखकबाट थप