म सांसद विकास कोष नै खारेजको माग गर्दछु : एमाले सांसद  यादव

सफल खबर संवाददाता

शनिबार, २६ असार २०७८, १३ : ४९
म सांसद विकास कोष नै खारेजको माग गर्दछु : एमाले सांसद  यादव

जनकपुरधाम । प्रदेश २ की नेकपा एमाले सांसद मञ्जु यादवले सांसद विकास कोष खारेज गर्न माग गरेकी छन् । आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै सांसद यादवले यस्तो माग गरेकी हुन् ।

उनले भनिन्, ‘बजेट प्रस्तुत भएको २५ दिनसम्म किन बैठक बस्न सकेन ? यसको जवाफ आज पनि पाउन सकिन्न । तर, मिडियामा सांसद विकास कोषको रकम बढाउने मागमा सहमती नजुट्दा संसद बैठक अवरुद्ध भइरहेको कुरा आइरहेको छ । त्यसैले म सांसद विकास कोष नै खारेजको माग गर्दछु ।’

असार १ मा अर्थमन्त्री विजय यादवले बजेट प्रस्तुत गरेर टेबल गर्ने बेलामा नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरूले सांसद विकास कोषको रकम बढाउनुपर्ने माग राख्दै संसद नै अवरुद्ध गरेका थिए । प्रत्यक्ष सांसदलाइ ३ करोडबाट ५ करोड र समानुपातिक सांसदलाई डेढ करोडबाट अढाई करोड पुर्‍याउनुपर्ने उनीहरूको माग छ ।

सांसद यादवले सांसद विकास कोष नै खारेज गर्नुपर्ने माग गरेपछि सदनमा धेरै सांसद चकित भएका छन् । उनले छोरीलाई पैत्रिक सम्पत्तिमा हक नपाउने गरेको जस्तै केन्द्रदेखि प्रदेशसम्म समानुपातिक र प्रत्यक्ष निर्वार्चित सांसदमा विभेद भइरहेकोमा दुस्ख व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस