गुञ्जानगर माविको स्वर्ण महोत्सव सुरु

बुधबार, २८ चैत्र २०७४, १८ : ०३
गुञ्जानगर माविको स्वर्ण महोत्सव सुरु

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १८ मा रहेको गुञ्जानगर माध्यमिक विद्यालयले स्वर्ण महोत्सव अन्तर्गत बुधबार विविध कार्यक्रम गरेको छ । विद्यालयले आयोजना गरेको अतिरिक्त क्रियाकलापका विजयी विद्यार्थीलाई पुरस्कार, विभिन्न शिक्षक तथा कर्मचारीलाई पुरस्कार, चन्दादाताहरुलाई सम्मानलगायत विविध कार्यक्रम गरिएको थियो । विक्रम सम्वत् २०१६ सालमा स्थापना भएको विद्यालयले ५७ वर्षपछि अहिले स्वर्ण महोत्सव मनाउँदैछ । स्वर्ण महोत्सवको अवसरमा विद्यालयमा निर्माण गरिएको स्वर्ण स्तम्भ, स्वर्ण द्वार, स्वर्ण मञ्चलगायतका भौतिक संरचनाहरुको बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अनावरण गर्दैछन् ।

बुधबार भएको कार्यक्रममा प्रदेश सांसद बलराम पौडेल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा पूर्व जलस्रोत राज्य मन्त्री नारायण शर्मा, वडा नम्बर १८ का अध्यक्ष दिपक मल्ल, चन्दाता वीरबहादुर श्रेष्ठ, प्रधानाध्यापक सूर्यभक्त वाग्ले, विद्यार्थी मनिस घिमिरे, पूर्व शिक्षक ऋषिराम घिमिरे, पूर्व विद्यार्थी वीरेन्द्र पौडेल, नेपाली काँग्रेसका प्रतिनिधि शालिग्राम पौडेल, माओवादी केन्द्रका पिताम्बर पोखरेल, शिक्षक अभिभावक संघका अध्यक्ष जीतबहादुर तामाङ, पूर्व प्रधानाध्यापक राधाकृष्ण घिमिरेलगायतले मन्तव्य राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विस्णु ढकालको अध्यक्षतामा भएको कार्यक्रममा अतिथि सत्कार तथा स्वागत उपसमितिका संयोजक जन्मजय ढकालले स्वागत मन्तव्य राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस