कांग्रेसको पौडेल समूहका सभापतिका आकांक्षीहरुबीच छलफल हुँदै

सफल खबर संवाददाता

शुक्रबार, २५ असार २०७८, १२ : ११
कांग्रेसको पौडेल समूहका सभापतिका आकांक्षीहरुबीच छलफल हुँदै

काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा संस्थापन इतर समूहका सभापतिका आकांक्षीबीच सहमतिमा नेतृत्व चयन गर्नेबारे छलफल हुँदैछ । शुक्रबार अपराह्न चार बजे बरिष्ठ नेता रामचन्द्र पौडेल समूहका सभापतिका आकांक्षीहरुबीच छलफल हुन लागेको हो ।

महाधिवेशनमा आफ्नो समूहबाट सभापतिमा एउटा मात्रै उम्मेदवार तय गर्ने प्रयासस्वरुप आजको छलफल बोलाइएको पौडेल समूहका एक नेताले बताए । पौडेल समूहका नेता अर्जुननरसिंह केसीको पहलमा सभापतिका सबै आकांक्षीलाई एकै ठाउँमा राखेर छलफल गर्न लागिएको हो ।

पौडेल समूहबाट आधा दर्जन नेतृत्वका आकांक्षी छन् । बरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा.शेखर कोइराला र कल्याण गुरुङले सभापतिमा दावी गरेका छन् । त्यस्तै पूर्वसहमहामन्त्री केसी र डा. रामशरण महतले सभापतिमा आकांक्षा राखेका छन् ।

कांग्रेस महाधिवेशन १६ देखि १९ भदौसम्म काठमाडौंमा हुँदैछ । संस्थापन समूहबाट सभापति शेरबहादुर देउवाले नेतृत्वमा दोहोरिने गरी तयारी अगाडि बढाएका छन् भने उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा दावी गरेका छन् । तेस्रो समूहका नेता पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापतिमा उठ्ने बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस