साउनपछि अवैध मोबाइल नचल्ने, आईएमईआई नम्बर दर्ता गर्न आग्रह

सफल खबर संवाददाता

बुधबार, २३ असार २०७८, १५ : १५
साउनपछि अवैध मोबाइल नचल्ने, आईएमईआई नम्बर दर्ता गर्न आग्रह

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले एमडिएमएस लागु गर्न प्राविधिक काम भइरहेको बताएको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अहिले चलिरहेको मोबाइल फोनलाई निर्वाध चल्न दिने गरि काम भइरहेको बताए । 

साउन महिना भरि मोबाइल प्रयोगकर्ताले आईएमईआई नं दर्ता गराउन समय दिने तयारी गरेको उनले बताए । प्राधिकरणका अध्यक्ष खनालले कमसल, गुणस्तर नभएका र अबैध बाटोबाट आएको अर्थात किनेको मोबाइल नचलाउन आग्रह गरे । अहिले मिडियामा आए जस्तो, बिभिन्न सामाजिक संजालमा भेटिएको गलत सूचनामा विश्वास नगर्न प्राधिकरणका अध्यक्ष खनालले सचेत गराए । साउन महिना पछि भने आईएमईआई नं दर्ता नभएका मोबाइल सेटले काम नगर्न सक्ने भएकोले दर्ता गर्न अनुरोध गरे । आगामी साउन १ गते देखि मोबाईल डिभाईस म्यानेजमेण्ट सिस्टम लागु हुने भएकाले अबैध रुपमा भित्रिएका मोबाईल सेट नचल्ने हुन सक्छ । 

नेपाल सरकारले आगामी बर्षको बजेट सार्वजनिक गर्दा एमडिएमएस लागु गर्ने घोषणा गरेको छ  । एमडिएमएस लागु भएपछि आईएमईआई नम्बर दर्ता नभएका मोबाईल सेट चल्न सक्दैनन् । अर्थात् यस्ता मोबाइलमा सिम कार्ड राखेपनि काम गर्दैन । मोबाइल व्यवसायीले एमडिएमएस लागु भएपछि नेपालमा अबैध मोबाईल नै नरहने बताएका छन् ।

मोबाईल फोन आयातकर्ता संघका अध्यक्ष समेत  रहेका नेपाल चेम्वर अफ कमर्शका उपाध्यक्ष दिपक कुमार मलहोत्राले एमडिएमएस प्रणाली लागु भएपछि मोबाइल कारोबार पारदर्शी हुने बताए । करिब ४० अर्बको  मोबाईल कारोवारमा १३ अर्बको कारोबार अबैध हुने बताइन्छ । एमडिएमएस प्रणालीले सबै कारोवारलाइ बैध मार्गमा लैजाने उनले बताए । 

यसले राज्यको करको दायरा बढ्ने, चोरी आयात रोकिने र ग्राहक ठगिने क्रम रोकिने अध्यक्ष मलहोत्राले बताए ।  एमडिएमएस प्रणाली पहिलोपटक लागु हुने भएकाले चलिरहेको मोबाइल र विदेशबाट उपहार अनि पर्यटकले बोकेर आउने मोबाइल कसरी चल्न दिने भन्ने बारे मोबाइल फोन आयातकर्ता संघसँग दुरसंचार प्राधिकरणले छलफल गरिरहेको छ । छलफलको क्रममा चलिरहेको फोनलाई निश्चित समय दिएर आईएमईआई नम्बर दर्ता गर्न लगाउने सुझाव आफुहरुले दिएको अध्यक्ष मलहोत्राले बताए । 

प्रतिक्रिया दिनुहोस