सर्वोच्च अदालतको फैसलापछि पार्टी एकता हुन्छ : बामदेव गौतम

सफल खबर संवाददाता

आइतबार, २० असार २०७८, १५ : ४७
सर्वोच्च अदालतको फैसलापछि पार्टी एकता हुन्छ : बामदेव गौतम

file photo

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले उनले सर्वोच्च अदालतको फैसलापछि पार्टी एकता हुने ठोकुवा गरेका छन् । राष्ट्रियसभाको बैठकपछि संघीय संसदभवन नयाँ बानेश्वरमा यस्तो अवस्थामा एकता सम्भव छ त भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता गौतमले सम्भव भएको तर त्यो सर्वोच्चको आदेशपछि सम्भव हुने बताएका हुन् । 

सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल एक आपसमा रिसाएको र सो रिस शान्त नभएसम्म दोश्रो तहका नेताको प्रयास पनि सार्थक नहुने बताएका हुन्। आफू भने पार्टी एकता गर्नुपर्छ भनेर अध्यक्ष ओलीतिर लागेको र त्यसका लागि दुवै नेताको रिस शिथिल पार्ने प्रयासमा जुटेको बताए। 

उनले भने, ‘एकै ठाउँ भएपछि त एकताको आवश्यकता नै पर्दैन नि। दुईतिर तीनतिर बाँडिएकाहरुलाई नै एकता गराउने हो। अहिले हाम्रो पार्टीमा माधव, झलनाथ एकातिर केपी एकातिर हुनुभयो। पार्टी एकता गराउनकै निम्ति भनेर म केपी ओलीतिर लाग्या छु। मैले एकताको प्रस्ताव अस्ति केन्द्रीय कमिटीको बैठकमा राखेँ। हलले नै मलाई एकताको प्रयत्न मुख्य कुरा बामदेवले गर्नुपर्छ भन्ने पास गरेको छ। यस्तो बेलामा नआत्तिक सबै साथीहरुलाई धैर्यधारण गरेर प्रत्यन्त गर्नुहोस् भनेर मैले अरुलाई भनेको छु। म त्यसको लागि प्रयत्नशिल छु। लागिरहेको छु। माधव कमरेड धेरै रिसाउनुभएको छ केपी ओली जीसँग, केपी ओली पनि माधवसित बेस्सरी रिसाउनु भएको छ। यी दुईटाको रिस नमर्दासम्म उहाँहरुको मातहतमा रहेका साथीहरुको पनि चिन्ताले काम लाग्नेवाला छैन। म यी दुइटैको रिसलाई कसरी शिथिल बनाउन सकिन्छ हो, त्यतातिर लागिरहेको छु।’

उनले भने, ‘एकता सम्भव छ। अहिले सम्भव नहोला। सर्वोच्चको निर्णय आएपछि एकता सम्भव होला भन्ने लागेको छ।’

प्रतिक्रिया दिनुहोस