रौतहटमा जंगली हात्ती बस्ती पसेपछि स्थानीयवासी त्रसित

सफल खबर संवाददाता

शनिबार, १९ असार २०७८, ११ : ३०
रौतहटमा जंगली हात्ती बस्ती पसेपछि स्थानीयवासी त्रसित

रौतहट । जंगली हात्ती रौतहटका बस्तीमा पसेपछि स्थानीयवासी त्रसित भएका छन् । गएराति देवाही गोनाही नगरपालिकाको उत्तरी क्षेत्र हुँदै बस्तीमा पसेको एक जंगली हात्ती शिवनगर हुँदै रौतहटको माधवनारायण नगरपालिकाको वडा नं ५ मिठुअवामा आइपुगेको छ ।

सो हात्तीले शिवनगरको एक घरमा क्षति पुर्याएको छ भने मिठुअवामा किसानको भकारी फुटाएर धान खाएको छ । अहिले सो हात्ती मिठुअवाको झाँझ पुल नजिकैको आप बगैंचामा रहेको छ ।

गाउँबस्तीमा जंगली हात्ती हिंडेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।हात्ती नियन्त्रणमा लिन वन कार्यालय, नेपाली सेना र चितवन राष्ट्रिय निकुञ्जको टोलीलाई भनिएको प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले बताए । वन कार्यालय र निकुञ्जको टोली रौतहट आउने क्रममा रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस