अर्को साता चीनबाट खोप आउने, कुन समूहले पाउँछन् ?

सफल खबर संवाददाता

शुक्रबार, १८ असार २०७८, १५ : ४१
अर्को साता चीनबाट खोप आउने, कुन समूहले पाउँछन् ?

काठमाडौँ । अर्को साता चीनबाट नेपालका लागि १० लाख डोज खोप आउने भएको छ । खोप लिन नेपाल एयरलाइन्सको जहाज असार २४ गते चीनको बेइजिङ जाने र भोलिपल्टै नेपाल आइपुग्ने छ। चीनबाट ल्याइने खोप कुन समूहलाई लगाउने भन्ने विषय टुङ्गो लगाउन बाँकी छ । 

खोप शाखाका प्रमुख डा झलक गौतमका अनुसार यसअघि ६० वर्ष माथिका उमेर समूहलाई लगायौं। अब त्यो भन्दा कम उमेर समूहलाई लगाउने सोच बनाएका छौँ ।  ६० वर्ष माथिका झन्डै १४ लाख मानिसले कोभिसिल्ड खोप लगाएका छन्। त्यसैले उनीहरूलाई दोस्रो मात्रा पनि कोभिसिल्ड नै लगाउनुपर्ने भएकाले पहिलो मात्रा लगाउनुपर्ने ६० वर्ष माथिका मानिस धेरै छैनन्। 

गौतमका अनुसार खोप पाउने दोस्रो प्राथमिकतामा ५५ वर्ष माथिका उमेर समूह हो। अब ६० वर्ष माथिकालाई पुगेपछि ५५ वर्ष माथिकालाई खोप लगाइने उनी बताउँछन् । यसअघि चीनबाट दोस्रो चरणमा अनुदानमा आएको खोप पनि सरकारले उमेर समूह अनुसार नै वितरण गरेको थियो। उक्त खोपको पहिलो मात्रा लगाउने काम सकिएको छ भने दोस्रो मात्रा आगामी असार २२ गतेदेखि लगाइने भएको छ।

सो खोप सुरूमा ६० देखि ६४ वर्षकालाई लगाउने भनिए पनि पछि खोप नपुग्ने देखिएपछि अन्तिम समयमा उमेर समूहलाई परिवर्तन गर्दै ६२ देखि ६४ बनाइएको थियो। 
 

प्रतिक्रिया दिनुहोस