सिरियामा रायायनिक हमलाः रुसविरुद्ध अमेरिकाले दियो यस्तो चेतावनी

मंगलबार, २७ चैत्र २०७४, १३ : २१
सिरियामा रायायनिक हमलाः रुसविरुद्ध अमेरिकाले दियो यस्तो चेतावनी

सिरियाको डूमामा भएको रासायनिक हमलाका दोषीलाई कडाभन्दा कडा जवाफ दिने अमेरिकाले चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार अमेरिकासँग अनगिन्ती सैन्य विकल्प भएकाले यो घटनाको कडा जवाफ दिने चेतावनी दिएका हुन् । उनले यसबारे सोमबार राती नै वा चाँडोभन्दा चाँडो निर्णय लिइने बताएका छन् ।

शनिबार डूमामा जुन घटना भयो त्यसको जिम्मेवार को हो भन्ने विषयमा अमेरिका स्पष्ट हुन चाहेको ट्रम्पले बताए । ट्रम्पले यस विषयमा फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोसँग सोमबार बेलुका कुराकानी गरेका छन् । कुराकानीमा दुबै नेताले एक ‘बलियो प्रतिक्रिया’ चाहेको बताए ।

संयुक्त राष्ट्रमा अमेरिका आक्रामक
यस्तै, संयुक्त राष्ट्र सुरक्षा परिषदमा अमेरिका र रुसले एक अर्कामाथि तिखो हमला गरेका छन् । रुसका प्रतिनिधी वासिल नेबेन्जियाले सिरियाको डूमामा भएको घटना थप गहिरिएको र यसको जवाफमा सैनिक कारवाहीको भयानक प्रभाव हुनसक्ने बताएका छन् ।
यसको जवाफमा संयुक्त राष्ट्र अमेरिकाकी दूत निक्की हेलीले सिरियालाई सैन्य मद्दत दिने रुसको हात सिरियाका बच्चाहरुको रगतले रंगिएको बताइन् ।

यसअघि संयुक्त राष्ट्र मानवाधिकार प्रमुखले संसारका ठूला शक्ति रासायनिक हतियारको प्रयोगलाई नदेखेझैं गरिरहेको बताएका थिए । यस्तै, निक्की हेलीले सिरियाका राष्ट्रपति बशर अल–असदलाई ‘शैतान’ को संज्ञा दिँदै संयुक्त राष्ट्र परिषदले कारवाही नगरेपनि अमेरिकाले केही न केही प्रतिक्रिया दिने बताएकी छिन् ।
उनले भनिन्, ‘बैठक चलिरहेको छ र जतिबेला हामी कुरा गरिरहेका छौं त्यसले महत्वपूर्ण निर्णय लिन मद्दत गरिरहेको छ ।’

रुसको जवाफः
संयुक्त राष्ट्रमा रुसका प्रतिनिधीले यो घटनालाई डूमाका विद्रोहीहरुले आफैंले निम्त्याएको बताएका छन् । रुसलाई हानी पुर्याउन अमेरिकाको उक्साहटमा त्यहाँका विद्रोहीले यस्तो कदम उठाएको उनले आरोप लगाए ।

उनले संयुक्त राष्ट्रका अनुसन्धानकर्तालाई चाँडोभन्दा चाँडो सिरिया गएर सत्यतथ्य छानबिन गर्न आग्रह गरेका छन् । यसका लागि हमला भएको स्थानसम्म उनीहरुलाई रुसका सैनिकले पुर्याइदिने पनि उनले बताए । रुसले क्लोरिन र अन्य कुनै पनि प्रकारको रसायनको प्रयोगको संकेत नपाएको पनि बताएको छ ।

प्रतिक्रिया दिनुहोस