अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्छ : गृहमन्त्री पौडेल

सफल खबर संवाददाता

सोमबार, १४ असार २०७८, १५ : ३५
अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्छ : गृहमन्त्री पौडेल

काठमाडौं । गृहमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने बताएका छन् । सोमबार अध्यागमन विभागले गरेको प्रणाली सिर्जित क्यू।आर। कोडसहित छपाई गरिएको भिसाको शुभारम्भ कार्यक्रममा बोल्दै गृहमन्त्री पौडेलले नेपालको अध्यागमनलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए । 

उनले विदेशीको पहिलो आँखा अध्यागमनमै पर्ने उल्लेख गर्दै अध्यागमनको सुधार गर्नुपर्नेमा जोड दिए । अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनको निम्ति कामको योजना बनाएर अघि बढ्नुपर्ने पनि उनले बताए । उनले भने, ‘नेपाललाई विदेशीले चिन्ने पहिलो दृश्य अध्यागमन हो । एयरपोर्ट हो । हामीले यो भिसा प्रणालीमा त एक प्रकारको सुधार गरेका छौँ र अरु थप सुधार गर्दै जान्छौँ । साथै समग्र अध्यागमन प्रशासनलाई समग्रतामा अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने आवश्यकता छ । हामीले गर्नुपर्ने कामहरुका बारेमा योजनाहरु निर्माण गर्दै जाऊँ ।’

मन्त्री पौडेलले अध्यागमन प्रणालीलाई प्रभावकारी बनाउनका लागि र यसको प्रतिष्ठालाई माथि उठाउनको निम्ति प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन समेत दिए । अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले क्यू।आर। कोड सहितको नेपाली कोडबाट सिधै छपाइ हुने भिसा प्रणालीको सुरुवात गरिएको बताए । 

अन्तर्राष्ट्रिय रुपमा भुक्तानी प्रणाली सुचारु नभएकाले तत्कालै विद्युतिय भिसा जारी गर्न नसकेपनि इन्टरनेशनल पेमेन्ट गेटवे सञ्चालन  हुन वित्तिकै विद्युतिय भिसा जारी गर्न सकिने उनले बताए । 

प्रतिक्रिया दिनुहोस