मिर्गौलाका बिरामीलाई निःशुल्क डाइलाइसिस सेवा शुरु

रासस

सोमबार, १४ असार २०७८, १५ : १२
मिर्गौलाका बिरामीलाई निःशुल्क डाइलाइसिस सेवा शुरु

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा उपमहानगरपालिकाको व्यवस्थापनमा मिर्गौलाका बिरामीलाई उपचार गरिने डाइलाइसिस केन्द्रको आज शुभारम्भ गरिएको छ ।

केन्द्रमा हेटौँडास्थित युनिलिभर प्रालि उद्योगले दुई वटा र हेटौँडा शिवम् सिमेन्ट एउटा डाइलाइसिस मेसिन हेटौँडा अस्पताललाई निःशुल्क उपलब्ध गराएका थिए भने उपमहानगरपालिकाले आफ्नै खर्चमा दुई वटा मेसिन खरीद गरी ल्याएको समेत गरी पाँच वटा डाइलाइसिस मेसिन जडान गरिएको छ । 

यस केन्द्रबाट आज मिर्गौला रोगका तीन बिरामीलाई पहिलोपटक डाइलाइसिस सेवा शुभारम्भ गरिएको छ । सो अवसरमा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले हेटौँडा अस्पतालमा कोभिड सङ्क्रमणलगायत मिर्गौला रोगबाट पीडित बिरामीलाई तत्काल गुणस्तरीय उपचार सेवा पु¥याउन उपमहानगरपालिकाले थप बजेट विनियोजन गर्ने बताए। उनले सदरमुकामभन्दा टाढा रहेका सर्वसाधारणलाई नियमित स्वास्थ्योपचार सेवा उपलब्ध गराउन स्थानीय निकायको सक्रियतामा छिट्टै हेटौँडामा सरुवा रोग अस्पतालको स्थापना गर्ने जानकारी दिए ।

प्रमुख महतले मिर्गौला रोगका बिरामीको चाप बढ्दै गएकाले केही हप्ताभित्रै हेटौँडा अस्पतालमा उपमहानगरपालिकाले दुई वटा र रोटरी क्लब अफ हेटौँडाद्वारा तीन  गरी थप पाँच वटा मेसिन ल्याइने तयारी भइरहेको बताए ।

सो अवसरमा प्रतिष्ठानका उपकुलपति प्राडा विश्वराज जोशीले मुलुकमा प्रत्येक वर्ष मिर्गौला रोगबाट करीब तीन हजार व्यक्तिमा सङ्क्रमण हुने गरेकाले दुर्गम भेगका सर्वसाधारणलाई पनि अब आफ्नो स्वास्थ्यको नियमित जाँचका लागि स्वास्थ्य संस्थामा जानुपर्ने जनचेतना  जागृत गराउने प्रतिष्ठानको नीति रहेको बताए । उनले प्रतिष्ठानद्वारा हेटौँडा अस्पतालमा केही महिनाभित्रै मुटु रोग, क्यान्सर र बालबालिकाका लागि उपचार सेवा र शल्यचिकित्सक सेवालाई गुणस्तरीय बनाउनेतर्फ सङ्घीय सरकारसँग सहकार्य गरिने बताए । 

हेटौँडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले अस्पताललाई दीर्घकालसम्म गुणस्तरीय सेवा प्रदान गर्नेतर्फ विभिन्न चरणमा कार्यक्रम कार्यान्वयनमा ल्याउने प्रयास भइरहेको उल्लेख गर्दै  मिर्गौला रोगका बिरामीलाई उपचारका लागि हेटौँडाबाट बाहिरतिर भौंतारिनु नपर्ने अवस्था सिर्जना भएकामा खुशी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस