कोभिड १९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउन नाडाको माग

सफल खबर संवाददाता

सोमबार, १४ असार २०७८, १४ : ५९
कोभिड १९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउन नाडाको माग

काठमाडौं । कोभिड १९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउन सरकारसँग नाडाले माग गरेको छ । नाडाले सरकारले अटोमोवाइल वर्कशप, शो रुम तथा स्पेयर पार्टस समेत तोकिएको समयमा मात्र खुल्ला हुनेगरी निर्देशिका जारी गरिसकेको भए पनि ती क्षेत्रमा कार्यरत व्यवसायी, कर्मचारी र विशेषगरी मजदुरहरुका लागि खोप उपलब्ध नभएको प्रति सरकारको ध्यानाकर्षण गराएको छ । 

नाडाले एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘व्यवसायमा संलग्न भई आफ्नो कार्यमा लाग्नु उच्च जोखिम हुने भएकोले यस्तो विषम परिस्थितिमा अटोमोबाइल वर्कशप, शो रुम तथा स्पेयर पार्टस पसलहरुमा काम गर्ने व्यवसायीहरु, कर्मचारीहरु, टेक्निसियनहरु र विशेषगरी ठूलो संख्यामा देशमा छरिएर रहेका श्रमिकहरुका लागि कोभिड १९ विरुद्धको खोप यथासक्य छिटो उपलब्ध गराउन सरकारसँग अपिल गर्दछौं ।’

विश्वव्यापी रुपमा पुनः विश्वमा फैलिएको कोरोना भाइरसको दोश्रो लहरबाट जनताको स्वास्थ रक्षाका लागि सरकारले बैशाख १६ गते देखि लकडाउन जारी गरेको सन्दर्भमा सरकारले हाल सो लकडाउनलाई केही खुकुलो पार्दे लगेको छ । अब सार्वजनिक यातायात पनि संचालनमा आउने भएपछि संक्रमणको जोखिम बढ्ने सम्भावना रहने भन्दै यस पेशामा संलग्नलाई खोपको व्यवस्था गर्न माग गरेको हो ।  

प्रतिक्रिया दिनुहोस