कोभिडका कारण साङ्केतिक रूपमा धान दिवस तथा रोपाइँ महोत्सव मनाइने

रासस

आइतबार, १३ असार २०७८, २० : ०६
कोभिडका कारण साङ्केतिक रूपमा धान दिवस तथा रोपाइँ महोत्सव मनाइने

सांकेतिक तस्वीर

काठमाडौं । कोभिड–१९ सङ्क्रमणका कारण यही असार १५ गते मुलुकभर साङ्केतिक रूपमा १८ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७८ मनाइने भएको छ ।

सकेसम्म सरकारी फार्म भित्रै सिमित गरेर दिवस मनाइने तयारी गरिएको छ । जिल्लास्तरका कार्यक्रमसमेत सरकारी फार्ममा मनाउन निर्देशन गरिएको कृषि विभागले जनाएको छ ।

‘धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ मनाउन लागिएको यसपटकको दिवसमा सांस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक (हिलो छ्याप्ने) कार्यक्रम गरिने छैन ।

“यसपाली महोत्सव कै लागि मापदण्ड तय गरिएको छ”, विभागका निमित्त महानिर्देशक जानुका पण्डितले भन्नुभयो, “सकेसम्म मानिस कम सहभागि गराएर धान दिवस मनाइन्छ ।” केन्द्रीयस्तरमा भने यसपाली कृषि अनुसन्धान परिषद्को खुमलटारस्थित फार्ममा मनाइने उहाँले जानकारी दिए । धान दिवसको महत्व जोगाउन, प्रचारप्रसार तथा परम्परालाई निरन्तरता दिन आवश्यक स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी दिवस मनाइने कृषि विभागले जनाएको छ ।

कृषि कर्मलाई नियमित राख्न नसके निकट भविश्यमा खाद्य तथा पोषण असुरक्षाको अवस्था आउन सक्ने सम्भावना रहेकाले आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाइ कृषिका गतिविधि नियमित गर्नुपर्ने निष्कर्ष कृषि तथा पशुपक्षी मन्त्रालयको छ । त्यसैले कोभिडका समयमा जारी गरिएको निषेधाज्ञाबीच सरकारले कृषि कर्मलाई चलायमान गराउन सहजीकरण गर्दै आइरहेको छ ।

कृषि मन्त्री वशन्तकुमार नेम्वाङकै उपस्थितिमा स्वास्थ्य मापदण्डण्को पूर्ण पालना गरी असार १५ मा दिवस मनाइने कृषि विभागद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । 

कृषि मन्त्रालयका प्रवक्ता डा श्रीराम घिमिरेले मन्त्रालयले धानबाली सुरक्षित गर्दै क्षेत्र विस्तार र उत्पादन वृद्धिका कार्यक्रम अघि सारिएको जानकारी दिनुभयो । उहाँका अनुसार जमिनको सुरक्षा, शुद्ध बीउ, सिचाइं कार्यक्रम, जातको विकास गरी धानमा आत्मनिर्भर बनाउने सरकारी लक्ष पूरा गर्नतर्फ मन्त्रालय अग्रसर भएको छ । 

नेपालमा खेती हुने कूल जमिनको ४७ प्रतिशतमा धान खेती हुन्छ । कूल १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा  ५६ लाख २१ हजार  मेट्रिक टन धान फल्ने विभागले जनाएको छ । प्राप्त विवरणअनुसार अघिल्लो वर्षको तुलनामा  धान उत्पादनको क्षेत्रफल एक प्रतिशत र उत्पादनमा १ दशमलव ३ प्रतिशत  प्रतिशतल वृद्धि भएको जनाइएको छ । विभिन्न कारण आन्तरिक उत्पादनले माग नधान्दा चामल आयातको क्रम भने बढ्दो छ  । 

प्रतिक्रिया दिनुहोस