काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य माइला लामाले राज्यपक्षले तीन बुँदे सहमतिलाई इमान्दारीपूर्वक कार्यान्वयन नगरेको गुनासो गरेका छन्।
गत फागुन २१ गते सरकारसँग भएको तीन बुँदे सहमतिप्रति आफ्नो पार्टी इमान्दार रही कार्यान्वयनको दिशामा गइरहेको भए पनि राज्यले आफ्नो भूमिकालाई इमान्दारीतापूर्वक कार्यान्वयन नगरेको उनले बताए।
उनले सहमति कार्यान्वयनमा सरकारले तदारुकता नदेखाउँदा पार्टी, कार्यकर्ता र नागरिकहरु दुःखी भएको दाबी गरे। तीन बुँदे सहमति अनुसार जेलमा रहेका आफ्ना कार्यकर्ता रिहाइ गर्ने काममा पनि ढिलासुस्ति भएको गुनासो उनले गरे।
‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति काठमाडौँले आइतबार संघीय राजधानी काठमाडौँमा गरेको रक्तदान कार्यक्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदै उनले राज्य आफूले गरेको सहमतिप्रति उत्तरदायी भइ कार्यान्वयनमा इमान्दार बन्नुपर्ने तर्क गरे।
उनले भने, ‘राष्ट्रिय राजनीतिमा निराशा छाएको छ। राजनीतिक पार्टीप्रति, सरकारप्रति, राजनितिक व्यवस्थाप्रति अहिले मानिसहरु सन्तुष्ट छैनन्। त्यसकारणले हाम्रो पार्टीले प्रगतिशिल सरकार, जनमत संग्रह र वैज्ञानिक समाजवादमार्फत नागरिकमा छाएको निराशालाई हल गर्ने र एकपटक नेपाली जनता आफैले जनमत प्रयोग गरेर आफ्नो शासन व्यवस्था छिनोफानो गर्ने वातावरण राज्यले बनाउनुपर्छ भनेर हाम्रो पार्टीले अपिल गरेको छ। तर दुर्भाग्य हाम्रा तीन बुँदे सहमति, सरकार र हाम्रो पार्टीबीच भएको थियो फागुन २१ गते। धेरै कमरेडहरु अझै पनि जेलमा हुनुहुन्छ। छुट्नुभएको छैन। हाम्रो प्रतिवद्धताप्रति हाम्रो पार्टी इमान्दार छ।’
उनले थपे, ‘कार्यान्वयनको दिशामा हाम्रो पार्टी गइरहेकै छ तर राज्यले आफ्नो भूमिकालाई जसरी इमान्दारीतापूर्वक कार्यान्वयन गर्नुपर्थ्यो। तीन बुँदे सहमति कार्यान्वयनमा राज्यले तदारुकता नदेखाएको अहिले राजनीतिक पार्टी, कार्यकर्ता र नागरिकहरु दुःखी छन्। यो पाटोमा राज्यले आफूलाई समयमा नै इमान्दारीतापूर्वक उभ्याओस्।’
नेकपा काठमाडौँ जिल्ला कमिटीले आइतबार गरेको रक्तदान कार्यक्रममा २ सय ५० जनाले रक्तदान गरेको आयोजकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ असार २०७८, १५ : ५६
लेखकबाट थप