बादल समूहले एमालेको राष्ट्रिय परिषदमा पठायो ५६० जनाको नाम

सफल खबर संवाददाता

आइतबार, १३ असार २०७८, १४ : ३२
बादल समूहले एमालेको राष्ट्रिय परिषदमा पठायो ५६० जनाको नाम

काठमाडौं । आगामी बुधबार बालुवाटारमा बस्ने नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठकले राष्ट्रिय प्रतिनिधि परिषद विस्तार गर्ने भएको छ । हाल १ हजार १ सय ९९ सदस्य रहेको परिषदमा पूर्वमाओवादीको बादल समूहले आफ्नो तर्फबाट ५ सय ६० जनाको नाम पठाएको छ ।

शनिबार बादलको नेतृत्वमा बसेको पूर्वमाओवादी समूहका नेताहरुको बैठकले राष्ट्रिय प्रतिनिधि परिषदमा पठाउने ५ सय ६० जनाको नाम टुंगो लगाएको हो ।

अब असार १६ गते बस्ने दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले परिषदका सबै नामहरु टुंगो लगाउने एमालेका एक नेताले बताए । ती नेताले भने, ‘पूर्वमाओवादी साथीहरुले परिषदमा राख्नका लागि ५६० जनाको नाम पठाउनुभएको छ, १६ गते आयोजक समितिको बैठकबाट सबै नामहरुको टुंगो लाग्छ ।’

राष्ट्रिय प्रतिनिधि परिषद केन्द्रीय समितिको मातहतमा रहने  संरचना हो । यो परिषदका सदस्यहरु काँग्रेसका महासमिति सदस्यजस्तै हुने ती नेताले बताए ।

प्रतिक्रिया दिनुहोस