७७ वर्ष माथिका जेष्ठ नागरिकलाई ललितपुर महानगरपालिकाले लगायो कोभिशिल्ड खोपको दोस्रो मात्रा

सफल खबर संवाददाता

बुधबार, ०९ असार २०७८, १८ : ०२
७७ वर्ष माथिका जेष्ठ नागरिकलाई ललितपुर महानगरपालिकाले लगायो कोभिशिल्ड खोपको दोस्रो मात्रा

file-photo

काठमाडौँ । ललितपुर महानगरपालिकाले ७७ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाएको छ। ललितपुर महानगरपालिकाले यसअघि कोभिशिल्ड खोपको पहिलो मात्रा लगाइसकेका ७७ वर्षमाथिका महानगरका स्थायी बासिन्दा जेष्ठ नागरिकलाई बुधबार कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाएको हो। खोप कार्यक्रम बुधबार एकदिनका लागि मात्रै सञ्चालन भएको बताइएको छ।

महानगरपालिकाभित्र विभिन्न ८ वटा खोप केन्द्र सञ्चालन गरेर खोप लगाइएको हो। खोप लगाउन आउने वृद्धवृद्धाले भने महानगरपालिकाको व्यवस्थापनप्रति असन्तुष्टि जनाएका छन्। सरकारले हुलमुलमा बस्नु नहुने बताएको भएपनि खोप केन्द्रमा भीडभाड बढी भएको र व्यवस्थित नभएको भन्दै पाटन हाइस्कुल खोपकेन्द्रमा आएका जोगरत्न बज्राचार्यले असन्तुष्टि जनाए।

देवेन्द्र राज शर्माले खोपकेन्द्रमा वृद्धवृद्धालाई व्यवस्थित रुपले नराखिएको बताए। उनले प्रत्येक वडाले आ–आफ्नो वडामा अथवा वडाले व्यवस्था गरको स्थानमा खोप लगाएको भए दुःख कम हुने बताए। व्यवस्थित तरिकाले खोप केन्द्र सञ्चालन नभएको उनको टिप्पणी छ।

कोभिशिल्ड खोपको दोस्रो मात्रा महानगरभित्रका करिब २४ सय जेष्ठ नागरिकलाई लगाइने महानगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस