विपक्षी गठबन्धनले भन्यो, - मुलुक गम्भीर संकटमा धकेलियो

सफल खबर संवाददाता

मंगलबार, ०८ असार २०७८, १९ : १३
विपक्षी गठबन्धनले भन्यो, - मुलुक गम्भीर संकटमा धकेलियो

फाइल फोटो

काठमाडौं । विपक्षी गठबन्धनमा सामेल पाँच राजनीतिक दलका नेताहरुले राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको बताएका छन् । मंगलबार काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त वक्तव्य जारी गर्दै नेपाली जनताको कष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धीहरु नै गुम्ने खतरा उत्पन्न भएको र राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको बताएका हुन् ।

'प्रधानमन्त्री र सरकारले जताततै हस्तक्षेप गर्ने, दबाब र धम्की दिने तथा संकीर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो अंगीकार गरेका छन् । नेपाली जनताको कष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरु नै गुम्ने हुन् कि भन्ने खतरा उत्पन्न भएको छ । राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको छ,’ उनीहरुले भनेका छन् ।

उनीहरुले मुलुकलाई समृद्धितर्फ अग्रसर गराउनुको साटो प्रतिगामी पाइला चाल्दै र आन्दोलनका उपलब्धि र राष्ट्रिय हितमा आघात पुर्‍याइएको बताएका छन् । प्रतिनिधिसभाको दुई–दुई पटक विघटन, अध्यादेशद्वारा शासन सञ्चालन, संवैधानिक अंगलगायत राज्यका निकायहरुको दुरुपयोग, राजनीतिक दलहरुमा विभाजन, भ्रष्टाचार, परराष्ट्र सम्बन्ध र कूटनीतिमा विचलन र असन्तुलनले सरकारमा अकर्मन्यता र गैरजिम्मेवारीपन देखिएको विपक्षी गठबन्धनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस