झापामा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु

रासस

सोमबार, ०७ असार २०७८, १४ : ५०
झापामा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु

झापा । कोरोना सङ्क्रमणबाट झापा गाउँपालिका र शिवसताक्षी नगरपालिकाका गरी दुईको मृत्यु भएको छ ।मृत्यु हुनेमा झापा–४ की ४१ वर्षीया महिला रहेकी छन् । उनलाई अचानक श्वासप्रश्वासको समस्या भएपछि गत जेठ २७ गते बिर्तामोडस्थित बिर्तासिटी हस्पिटल भर्ना गरिएको थियो । त्यहाँ कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । हस्पिटलको सघन उपचार कक्षमा उपचार गराइरहँदा स्वास्थ्यमा सुधार नआएपछि आफन्तले आइतबार बिरामीलाई घर ल्याएका हुन् । 

घरमा फेरि श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि दमकको लाईफलाईन हस्पिटल लैजाने क्रममा राति १०ः०० बजे मृत्यु भएको परिवारले जनाएको छ । सो गाउँपालिकामा दोस्रो लहरमा कोरोनाका कारण मृत्यु हुनेको सँख्या आठ पुगेको छ । 

शिवसताक्षी वडा नं १० का कोरोनाबाट नै ६१ वर्षीय टङ्क विमलीकोे पनि आइतबारै उपचारका क्रममा विर्तासटी अस्पतालमा मृत्यु भएको हो । मृतक दोमुखामा दुई दशकदेखि होटल व्यवसाय गर्दै आएका थिए । 

शिवसताक्षीमा कोरोनाको दोस्रो लहरयता हालसम्म आठ सङ्क्रमितको मृत्यु भइसकेको छ । त्यसैगरी हाल नगरका ३५८ सङ्क्रमितमध्ये २२१ निको भइसकेका छन् भने १८८ सक्रिय सङ्क्रमित उपचाररत रहेका नगर स्वास्थ्य शाखाले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस