काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले लोभीपापी र अवसरवादीहरुलाई बोकेर हिँड्दा गन्तव्यमा नपुगिने बताएका छन् । राप्रपाभित्र खटपट चलिरहेको बेला थापाले आफ्नो पछि कति छन् भनेर नहेर्ने भन्दै बरु एक्लै हिंड्ने बताएका हुन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘लोभीपापी र अवसरवादीहरुलाई बोकेर हिँड्दा संतोष नहुने र गन्तव्यमा पनि नपुगिने रहेछ। विगतमा धेरै गल्ती गरियो। अब मसँग गल्ती गरेर सच्याउने समय छैन। त्यसैले,अब मेरो पछि कति छन् भनेर हेर्दिन। बरु एक्लै हिँड्छु, नकारात्मक सोच भएकाहरुसँग टाढै बस्छु ।’
प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्ने थापाको प्रयासमा अध्यक्षद्वय पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनीले अवरोध खडा गरेका थिए । केही दिनअघि थापाले उनीहरुमाथि अल्छी घोडाको संज्ञा दिएका थिए । उनीहरुका कारण पार्टीले गति लिन नसकेको थापाको भनाइ थियो ।
राप्रपाले शुक्रबार केन्द्रीय निर्देशन समिति र केन्द्रीय बिशेष समिति गठनमा पनि राप्रपाभित्र विवाद छ । पछिल्लो थापाको कार्यशैलीप्रति विमति जनाउँदै आएका नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणालाई २५ सदस्यीय केन्द्रीय विशेष समितिमा समेटिएको छैन ।
पार्टीका उपाध्यक्ष र महामन्त्री समेत भइसकेका राणाले थापाको साथ छोडेपछि विशेष समितिमा नराखिएको बुझिएको छ । उनी आफै आगामी महाधिवेशनमा पार्टीको लागि नेतृत्व अगाडि सर्ने तयारीमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ असार २०७८, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शनिबार बुटवलमा शक्ति प्रदर्शन गर्दै राप्रपा
राप्रपाले फागुन २५ गते काठमाडौँमा भण्डाफोर सभा गर्ने
राप्रपाले बोलायो कार्यसम्पादन समितिको बैठक
राप्रपा कार्यसम्पादन समिति बैठक बस्दै
उपनिर्वाचनमा अधिकांश स्थानमा सुधार भएको राप्रपाको निष्कर्ष
सरकारले एनसेललाई दुहुनो गाईको रुपमा प्रयोग गर्दैछ : राजेन्द्र लिङदेन