स्विस बैंकमा नेपालीले बचत गर्ने पैसा वर्षमै दोब्बर, ४६ अर्ब बढी रकम नेपालीको जम्मा

सफल खबर संवाददाता

शनिबार, ०५ असार २०७८, ०८ : ००
स्विस बैंकमा नेपालीले बचत गर्ने पैसा वर्षमै दोब्बर, ४६ अर्ब बढी रकम नेपालीको जम्मा

काठमाडौँ । गम्भीर अपराध तथा गैरकानुनी कार्यबाट आर्जित रकम बचत गरिदिने र उच्चस्तरीय गोपनीयता राख्ने स्विस बैंकमा नेपालीको मौज्दात रकम बढेको छ । स्विस नेसनल बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार स्विट्जरल्यान्डका बैंकमा सन् २०१९ को तुलनामा २०२० मा नेपालीको बचत दोब्बर भएको छ । 

नेपालीको बचत सन् २०१९ सम्ममा १७ करोड ५८ लाख ६५ हजार २ सय ४१ स्विस फ्र्यांक (हालको विनिमय दरअनुसार २२ अर्ब ७३ करोड ४० लाख ९९ हजार ८ सय १० रुपैयाँ) थियो । सन् २०२० मा बचत ३६ करोड ८ लाख २२ हजार ५ सय ५१ स्विस फ्र्यांक (हालको विनिमय दरअनुसार ४६ अर्ब ६४ करोड ३५ लाख ३१ हजार २ सय ५१ रुपैयाँ) पुगेको छ ।

यो बचत कसको र कति जना नेपालीको हो भन्नेबारे स्विस बैंकले सार्वजनिक गर्दैनन् । स्विस बैंकले बचतकर्तालाई उच्चस्तरको गोपनीयता कायम गरिदिन्छन् र कमस्तरको वित्तीय जोखिमको व्यवस्था गरेका छन् । गम्भीर प्रकारका अपराध, करछली, भ्रष्टाचार, मानव तथा हतियार बेचबिखनलगायत गैरकानुनी कार्यबाट आर्जित रकम राखिदिने गरेको आरोप स्विस बैंकमाथि छ ।

नेपालीको बचत सन् २०१७ पछि लगातार दुई वर्ष घटेको थियो । स्विस नेसनल बैंकले सार्वजनिक गरेको विवरणअनुसार सन् २०१७ सम्म नेपालीको बचत ४१ अर्ब ७३ करोड ९२ लाख २३ हजार २०५ रुपैयाँ (हालको विनिमय दर अनुसार) थियो । २०१८ मा ३२ अर्ब १६ करोड ५ लाख ८७ हजार ८ सय ४८ रुपैयाँमा झर्‍यो । २०१९ मा अझ घटेर २२ अर्ब ७३ करोड ४० लाख ९९ हजार ८ सय १० रुपैयाँमा पुग्यो । २०२० मा भने दोब्बर भएको हो । यो रकम ब्याजसहितको हो ।

स्विस नेसनल बैंकले नेपालसहित विश्वभरका नागरिकको के कति मौज्दात छ भनेर सन् १९९६ ९वि।सं। २०५२० देखिको विवरण सार्वजनिक गरेको छ । द्वन्द्व सुरु भएकै वर्ष १९९६ देखि २०२० सम्म नेपालीले ६६ अर्ब १९ करोड २६ लाख रुपैयाँ (हालको विनिमय दर अनुसार) जम्मा गरिसकेको देखिन्छ । तर हालको मौज्दात त्यति नहुनुले नेपालीले बचत राख्ने र झिक्ने गरिरहेको देखाउँछ । स्विस बैकमा बचत गर्दा आयस्रोत खोजिँदैन र बचतकर्ताको विवरण गोप्य रहन्छ । त्यसैले स्विस बैंकलाई गैरकानुनी आर्जन राख्न सुरक्षित भनेर विश्वभर नै चिनिन्छ । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस