कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले वन्यजन्तुको क्षति न्यूनीकरणका लागि ‘वन्यजन्तु मैत्री’ संरचना निर्माणमा जोड दिन थालेको छ ।
वन्यजन्तु र मानवबीच हुने द्वन्द्व एवं दुर्घटनामा कमी ल्याउनका लागि निकुञ्जले ‘वन्यजन्तु मैत्री’ संरचना निर्माणमा जोड दिन थालेको हो । निकुञ्ज भएर जाने महाकाली तेश्रो चरणको नहरमा वन्यजन्तु मैत्री संरचना बनाइएका छन् । निकुञ्जले महाकाली तेश्रो चरणको परियोजनासंग समन्वय गरी वन्यजन्तुलाई ओहरदोहरका लागि ‘ओभर पास’ बनाइएका छन् ।
“निकुञ्जको झण्डै चार किलोमिटर क्षेत्र भएर नहर गएको छ”, निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पूर्जामगरले भने, “वन्यजन्तुलाई निकुञ्जको उत्तर दक्षिणतर्फ ओहरदोहर गर्नका तीन÷तीन सय मिटरको दूरीमा पाँच ओटा ओभर पास निर्माण गरिएको छ ।”वन्यजन्तुको बढी ओहरदोहर हुने क्षेत्रको पहिचान गरी ओभर पास निर्माण गरिएको उनको भनाइ छ । नहरमा फसेर मृत्यु हुने समस्या समाधानका लागि परियोजनाको सहकार्यमा वन्यजन्तुका लागि ठाउँ ठाउँमा पानी पिउने व्यवस्था गर्न लागेको प्रमुख संरक्षण अधिकृत पूर्जामगरले बताए ।
वन्यजन्तु मैत्री संरचना निर्माण हुँदा वन्यजन्तु र मानव बीच हुने द्वन्द्व एवं दुर्घटनामा कमी आउने बताउँदै उनले वन्यजन्तुलाई सुरक्षित महसुस हुने गरी संरचना निर्माणमा निकुञ्ज लागिपरेको छ । प्रमुख संरक्षण अधिकृत पूर्जामगरका अनुसार पूर्व पश्चिम राजमार्गको अर्जुनीदेखि चम्फापुरसम्म निकुञ्ज क्षेत्र भएर जाने सवारी साधनको ठक्करबाट चालू आर्थिक वर्षको हालसम्म नौ वटा संरक्षित जनावरको मृत्यु भएको छ ।
“ओहरदोहर गर्ने ठाउँको अभाव हुँदा राजमार्गमा सवारी साधनको ठक्करबाट वन्यजन्तुको मृत्यु हुने गरेको छ । त्यसको निराकरणका लागि वन्यजन्तु मैत्री संरचना निर्माणमा जोड दिनुपर्छ”, उनले भने, “वन्यजन्तु मैत्री संरचना निर्माण नहँुदा पछिल्लो समय मानव र वन्यजन्तुबीचको द्वन्द र दुघटनामा समेत वृद्धि हुन थालेको छ ।”
निकुञ्ज कार्यालयका अनुसार निकुञ्ज क्षेत्रमा पर्ने पूर्व पश्चिम राजमार्गको उत्तर र दक्षिणतर्फ ओहरदोहर गर्नेमा १५ प्रजातिका स्तनधारी जीवजन्तु र सरिसृप लगायत रहेका छन् । “परम्परागत रुपमा बनाइएका सडक, नहरलगायत संरचना वन्यजन्तु मैत्री छैनन्”, डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजयविक्रम मानन्धरले भने, “ती संरचनमा सुधार गर्नु नितान्त जरुरी छ । त्यसमा अन्डर र ओभर पास बनाई वन्यजन्तुको आवागमनलाई सहज बनाउनुपर्छ ।”
वन क्षेत्र भित्र बनाइने सडक तथा नहर जस्ता विभिन्न संरचनालाई वन्यजन्तु मैत्री बनाउन नसके मानव र वन्यजन्तुबीच द्वन्द्व र दुर्घटना समेत बढ्दै जाने हुँदा आगामी दिनमा यस प्रकारका भौतिक संरचना निर्माणका क्रममा सबै पक्षले वन्यजन्तुको संरक्षण र अधिकारको विषयलाई समेत आत्मसात् गर्न आवश्यक रहेकोमा उनको जोड छ ।
“वन्यजन्तु मैत्री संरचना बनाउँदा प्राकृतिक स्वरुपजस्तै लाग्नुपर्छ” उनले भने, “त्यसो भए मात्र जिवजन्तुले सहज रुपमा ओहरदोहर गर्न सक्छ ।” वन्यजन्तु हिडने बाटो अतिक्रमण गरी बसोबास गर्ने र भौतिक संरचना निर्माण गर्ने कार्यले पनि वन्यजन्तु र मानवबीच हुने द्वन्द्व हुने गरेको छ । त्यसैले अब विकास निर्माणका कार्यमा वन्यजन्तु र वातावरण मैत्री संरचना निर्माणलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।
महाकाली सिँचाई तेस्रो चरण आयोजना कार्यालयका प्रमुख रणबहादुर बमले तेस्रो चरणको काममा वन क्षेत्रमा वन्यजन्तु मैत्री संरचना निर्माण भइरहेको जानकारी दिए । “निकुञ्ज क्षेत्र भएर जाने नहरका ठाउँ ठाउँमा ओभर पास बनाएका छौं”, उनले भने, “निकुञ्ज कार्यालयको सहकार्यमा जीवजन्तुलाई पानी पिउनका लागि समेत व्यवस्था गर्नमा लागेका छौं ।” वन्यजन्तु र जैविक विधिताको संरक्षण गरेमा मात्रै मानव जीवन सुरक्षित रहने उनको भनाइ छ ।
राष्ट्रिय वातावरण नीति—२०७६ ले समेत भौतिक पूर्वाधार निर्माण गर्दा वन्यजन्तु र वातावरण मैत्री संरचना निर्माणमा जोड दिएको छ । वातावरण संरक्षण ऐन—२०५३ तथा वातावरणीय प्रभाव नियमावली—२०५४ ले वातावरण संरक्षणका लागि कानूनी आधारहरु समेत प्रदान गरेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०३ असार २०७८, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शुक्लाफाँटाको समस्या समाधान गर्न आयोगद्वारा काम सुरु
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमयुर गणना सुरु