बलेवा । कोरोनाको सक्रिय सङ्क्रमित १ हजार १ सयसम्म रहेको बागलुङमा बिहिबारसम्म आइपुग्दा ६ सयमा झरेको छ । सङक्रमितहरु डिस्चार्ज हुने क्रम बढेको छ । कोरोनाका बिरामी थपिने दर केही कम पनि भएको छ । तर गाउँ गाउँमा पुगेको कोरोनाको चेनब्रेक कसरी संभव होला ? यो अहिलेको बढी चासोको विषय बनेको छ ।
सक्रिय सङ्क्रमित घटाउनका लागि परिक्षण नै घटाएको टिप्पणी समेत भैरहेको छ । परीक्षण घटाएरभन्दा छिटो धेरै सङ्क्रमित पहिचान गरेर उनीहरुलाई उपचारमा लैजाने, सुरक्षित आइसोलेसनमा राख्ने जस्ता काम गर्नु पहिलो प्राथमिकता हो । त्यसका लागि स्थानीय तहबाटै सक्रियता हुन जरुरी छ । किनकी स्थानीय तहले हरेक वडा र टोलसम्मको अवस्था बुझेको हुन्छ । कोभिड नियन्त्रण अभियानमा स्थानीय तहनै प्रभावकारी संयन्त्र समेत हुन् । कोरोना नियन्त्रण अभियानमा केही पालिकाले अगुवाई समेत गरिसकेका छन् ।
बागलुङ नगरपालिकाको वडा नं ४ मा सङ्क्रमित बढेर सिल गरिएकै बेला वडा नं ११ भने सङ्क्रमण मुक्त भएको छ । वडा नं. ११ को रायडाँडामा कडा निगरानी, होम आइसोलेसनमा स्वास्थ्य मापदण्ड पालना र नियमित उपचार सेवामा स्वास्थ्यकर्मी खटिंदा यो सफलता मिलेको वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले बताए । रायडाँडामा एकैपटक १२ जना सम्ममा कोरोना देखिएको थियो । अघिल्लो वर्ष २ जना मात्रै सङ्क्रमित देखिएको यहाँ यो वर्ष भने एकैपटक सङ्क्रमण बढ्ने खतरा थियो ।
सङ्क्रमणविरुद्ध स्वास्थ्य चौकीप्रमुख केयरसिंह थापासहित अध्यक्ष गौतमले निरन्तर घरदैलो गरेर स्वास्थ्य मापदण्ड पालनामा पहल गर्दा सफलता मिलेको थियो । यो अभ्यास अन्यत्र पनि गर्नुपर्ने सरोकारवालाले बताए । सबैभन्दा धेरै सङ्क्रमित देखिएको बलेवा क्षेत्रमा पनि होम आइसोलेसनलाई कडाइ गरेर घरमै बस्ने व्यवस्था मिलाएपछि सङ्क्रमण मुक्त गर्न सकिने बानपा–१२ अमलाचौरकी अनमी कल्पना घिमिरेले बताईन ।
बागलुङको ताराखोला पनि शुन्य सङ्क्रमित बनाउने अभियानमा छ । स्वास्थ्य शाखा प्रमुख उदित थापाका अनुसार गाउँपालिकाको संस्थागत आइसोलेसनमा तीन जना मात्रै छन् । उनीहरु डिस्चार्ज हुने क्रममा छन् । सबैजना निको भैसकेकोले शुन्य सङ्क्रमणमा पुगिसकेको थापाले बताए। गाउँपालिकाले तीन सातासम्म गरेको कठोर परिश्रमको सफलताले यो उपलब्धी पाएको उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २८ जेठ २०७८, १५ : १६
लेखकबाट थप