संविधानको नेतृत्व गरेको दलले नै समृद्धिको नेतृत्व गर्छ : प्रकाशमान सिंह

शनिबार, १६ मंसिर २०७४, १२ : १९
संविधानको नेतृत्व गरेको दलले नै समृद्धिको नेतृत्व गर्छ :  प्रकाशमान सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधान निर्माणको नेतृत्व गरेको पार्टीले नै समृद्धिको नेतृत्व गर्ने बताएका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा काँग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले काँग्रेसको नेतृत्वमा मुलुकले समृद्धि पाउने बताए ।

“चार जना कम्युनिष्ट सरकारले बनाउन नसकेको संविधान काँग्रेसको नेतृत्वमा निर्माण भयो, अब समृद्धिको अभियान पनि काँग्रेसकै नेतृत्वमा हुन्छ,”– उनले भने ।

नेता सिंहले कम्युनिष्टमा धेरै बोल्ने तर काम नगर्ने बानी रहेको बताए । मुलुकको विकासका लागि अरु पार्टीसँग काँग्रेसको तुलना गर्न नमिल्ने उनको भनाइ थियो ।

पूर्व उपप्रधानमन्त्री सिंहले अवसर पाउँदा काम नगर्ने अनि अर्काले गर्न लागेको काम बिगार्ने कम्युनिष्टको चरित्र भएको बताए । “अरुण तेस्रो जलविद्युत् आयोजना कुन दलका कारण रोकिएको हो,”– उनले प्रश्न गरे ।

काँग्रेसका पूर्वमहामन्त्री सिंहले काठमाडौँको विकासमा आफूले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।
उनले काठमाडौँ क्षेत्र नं १ को विकासमा गर्न बाँकी रहेका कुरालाई पूरा गरेर नमूना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस