सरकारी गाडीमा डेटिङ गएका उपसचिव श्रेष्ठलाई कारबाही गर्न निर्देशन

सफल खबर संवाददाता

शुक्रबार, २१ जेठ २०७८, १६ : ००
सरकारी गाडीमा डेटिङ गएका उपसचिव श्रेष्ठलाई कारबाही गर्न निर्देशन

काठमाडौँ । सरकारी गाडीमा डेटिङ गएका शहरी विकास मन्त्रालयका आयोजना प्रमुख रोशन श्रेष्ठलाई कारवाही गर्न गृहमन्त्रालयले निर्देशन दिएको छ । 

कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा उल्लङ्घन गर्दै  श्रेष्ठ डेटिङ गएका थिए । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र लेख्दै गृहमन्त्रालयले अनुसन्धान गरी श्रेष्ठलाई के कारवाही भयो सो को विवरणसमेत पठाउन निर्देशन दिएको छ ।

गत आइतबार शहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास विभागको नयाँ सहर आयोजना प्रमुख उपसचिव रोशन श्रेष्ठ प्रदेश ३–०१–००२ झ ४९२२ नम्बरको सरकारी गाडीमा स्वयम्भूमा एक युवतीसहित पुगेका थिए । निषेधाज्ञा उल्लंघन गर्दै स्वयम्भु पुगेका उनीहरु प्रेमालापमा रमाइरहेको भिडियो विभिन्न अनलाइन समाचार माध्यम तथा सामाजिक सञ्जालबाट बाहिरिएपछि उनीहरुमाथि कारवाहीको माग गरिएको हो ।

श्रेष्ठसँगै रहेकी सो युवती शहरी विकास विभागमै काम गर्ने इन्जिनियर रहेको बताइएको छ । गृह मन्त्रालयको निर्देशनपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले श्रेष्ठलाई कारवाही प्रक्रिया सुरु गरेको जानकारी दिए । उनले गृह मन्त्रालयको पत्र प्राप्त भएपछि सहायक प्रमुख जिल्ला अधिकारी जनक भट्टको नेतृत्वमा अनुसन्धान समिति बनाएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस