कर्णाली सरकारले जेठ २५ गते भित्र संसद अधिवेशन बोलाउने

सफल खबर संवाददाता

विहीबार, २० जेठ २०७८, १८ : ३१
कर्णाली सरकारले जेठ २५ गते भित्र संसद अधिवेशन बोलाउने

सुर्खेत । कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको दबाबपछि प्रदेश सरकार बजेट अधिवेशन बोलाउन तयार भएको छ ।सभामुख राजबहादुर शाहीको आह्वानमा बिहीबार दिउँसो बसेको प्रदेश सर्वदलीय बैठकले प्रदेशसभाको वर्षे अधिवेशन अविलम्ब बोलाउन सरकारलाई आग्रह गरेको प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

बैठकमा सहभागी दलका नेताहरुले असार १ गतेभित्र प्रदेश सरकारले बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था रहको भन्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई अविलम्ब अधिवेशन बोलाउन आग्रह गरेका थिए ।

दलहरुको आग्रहपछि मुख्यमन्त्री शाहीले जेठ २५ गतेभित्र बजेट अधिवेशन बोलाउने बताएको बैठकमा सहभागी एक नेताले बताए ।‘अझै निषेधाज्ञा जारी नै छ, निषेधाज्ञाकै कारण देखाउँदै एमालेले बैठक अवरुद्ध गरेको थियो, अन्ततः अधिवेशन नै अन्त्य गर्नुपर्‍यो,’ ती नेताले भने, ‘अहिले प्रमुख प्रतिपक्षी एमालेले पनि अधिवेशन बोलाउन दबाब दिइरहेको छ । मुख्यमन्त्रीज्यूले पनि २५ गतेभित्र बोलाउने बताउनुभएको छ ।’

असार १ गते प्रदेश सरकारले बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्ने प्रचलन छ ।सर्वदलीय बैठकमा मुख्यमन्त्री शाही, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल, कांग्रेस दलका नेता जीवनबहादुर शाही, राप्रपा सांसद शोसिला शाही र मन्त्रीहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस