बर्दियामा हात्तीको आक्रमणबाट आमाछोरीको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ११ जेठ २०७८, ११ : ४३
बर्दियामा हात्तीको आक्रमणबाट आमाछोरीको मृत्यु

बर्दिया । बर्दियाको गेरुवा गाउँपालिकामा हात्तीको आक्रमणबाट आमाछोरीको मृत्यु भएको छ ।बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्तीको आक्रमणमा सोमबार बेलुकी गेरुवा गाउँपालिका – १ सरखोलकी ३७ वर्षीया चन्द्रा विकको घटनास्थलमै मृत्यु भएको थियो । उनकी तीन बर्षीया छोरी दिपिका वि.क.गम्भीर घाइते भएकी थिइन् ।

सोमबार साँझ घरबाहिर रहेको समयमा हात्तीले आक्रमण गर्दा आमाको घटनास्थलमै र छोरीको गम्भीर घाइते अवस्थामा उपचार गर्दागर्दै मृत्यु भएको बर्दियाको गेरुवा गाउँपालिका वडा नं १ का वडाध्यक्ष दयाराम थारुले जानकारी दिए ।

गर्मीका कारण घर बाहिर आँगनमा बसिरहेका उनीहरुलाई सोमबार बेलुकी ९ बजेतिर हात्तीले आक्रमण गरेको हो । गम्भीर घाइते दीपिकालाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लगिएकोमा मंगलबार बिहान १० बजे मृत्यु भएको वडाध्यक्ष थारुले बताए ।

इलाका प्रहरी कार्यालय शान्तिबजार र बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख विष्णु श्रेष्ठसहितको टोली मंगलबार विहान घटनास्थलमा पुगेर अनुसन्धान गरेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जले घटनाको अध्ययन गर्दै मृतकको परिवारलाई राहतको प्रक्रिया अगाडि बढाउने बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस