बादल भर्सेज खिमलाल, कसले मार्ला बाजी ?

सफल खबर संवाददाता

शुक्रबार, २४ बैशाख २०७८, १६ : ०८
बादल भर्सेज खिमलाल, कसले मार्ला बाजी ?

काठमाडौं ।  राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि हालका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र डा खिमलाल देवकोटा चुनावी मैदानमा उत्रिसकेका छन् । बादल एमाले केपी ओली पक्षबाट चुनावी मैदानमा छन् भने डा खिमलाल कांग्रेस, माओवादी केन्द्र र एमाले माधव नेपाल पक्षबाट मैदानमा छन् । दुबै उम्मेदवार एमालेका भए । 

राष्ट्रिय सभा सदस्यमा नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङको उम्मदेवारी दर्ता गरेका छन् तर मुख्य प्रतिस्पर्धा भनेको डा खिमलाल र बादलबीच नै हुनेछ । पछिल्लो समय बादल उम्मेदवार बन्ने इच्छा देखाएका थिएनन्, प्रधानमन्त्री ओलीसँगको भेटपछि उनी काठमाडौँबाट हेलिकप्टर चढेर हेटौँडा पुगेर उम्मेदवारी दर्ता गराए । 

को हुन् डा देवकोटा ?
विकास अर्थशास्त्रमा विद्यावारिधि गरेका देवकोटा वित्तिय संघीयता व्यवस्थापनका विज्ञ मानिन्छन्। ०७६ असारमा देवकोटाले बागमती प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष पदबाट राजीनामा दिएका थिए । देवकोटाले अर्थशास्त्रमा एमए, आर्थिक विश्लेषणमा एमएसी र विकास अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । स्थानीय निकाय वित्तीय आयोगमा लामो समय विज्ञ भई कार्य गरेका देवकोटाले प्रधानमन्त्री कार्यालय र राष्ट्रिय योजना आयोगमा पनि विज्ञ सल्लाहकारका रुपमा काम गरिसकेका छन्। 

डा देवकोटा माधव नेपाल पक्षका एमाले निकट बुद्धिजीवी हुन् । उनी यसअघि एमालेकै कोटाबाट वाग्मती प्रदेश योजना आयोगको उपाध्यक्ष भएका थिए । मुख्यमन्त्री डोरमणि पौडेल तथा मन्त्रीहरु सिष्टममा नचलेको भन्दै देवकोटाले एक वर्ष काम गरेर ०७६ असारमा पदबाट राजीनामा दिएका थिए । 

को हुन् बादल ?
बादल हाल नेपाल सरकारका गृहमन्त्री हुन् । उनी पहिला नेकपा माओवादी केन्द्रका शीर्ष नेता थिए । माओवादी कोटाबाट उनी ओली सरकारमा गृहमन्त्री भएका हुन् । पछि विस्तारै बादल प्रधानमन्त्री ओलीतर्फ ढल्के । अहिले उनी एमालेका शीर्ष नेतामा दरिएका छन् । बादलको उम्मेदवारी प्रस्तावकमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत छन् । 

२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट नेता रामबहादुर थापा ‘बादल’ यही ठाउँबाट निर्वाचित भएका थिए ।  पार्टी परित्याग गरी एमालेमा गएपछि माओवादी केन्द्रले बादललाई राष्ट्रियसभा सदस्यबाट पद मुक्त गरेको थियो । माओवादी केन्द्र छाडेर एमालेमा आएका कारण केपी ओली पक्षले बादललाई नै पुनः उम्मेदवार बनाएको छ । राष्ट्रिय सभा उपचुनावमासत्तारुढ एमालेमा चर्किएको विवादले एमाले भर्सेज एमाले नै उम्मेदवार भएको छ । 

दुबै नेता एमालेका भएका कारण यदी माधव नेपाल र केपी ओलीको वार्ता सहमति भएको खण्डमा एक उम्मेदवारले फिर्ता लिने सम्भावना रहने एमालेका एक नेताले बताए । वार्ता सहमति भएन भने दुबै नेता चुनावी मैदानमा भिड्नेछन् । बादललाई एमाले केपी पक्षले भोट हाल्नेछ भने खिमलाललाई अन्य विपक्षी पक्षधरले भोट हाल्ने छ । राष्ट्रियसभा सदस्य पदमा जेठ ६ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालयलाई मतदानस्थल तोकिएको छ । उपनिर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।

यस्तो छ अंकगणित
वाग्मती प्रदेशसभा सदस्य ११० जना र प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३८ गरी ३४८ मतदाता रहेका छन् । चुनावमा माधव नेपाल पक्षको भोट बलियो हुने देखिन्छ । माधव नेपाल पक्षतर्फको भोट बादललाई खस्यो भने उनी विजयी हुन पनि सक्छन् तर माधव नेपाल पक्षको भोट डा खिमलालाई खस्यो भने उनी विजयी हुने बलियो सम्भावना देखिन्छ । तर चुनाव हो यसै भन्न सकिदैन । 

प्रदेशसभाका एक जना सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मत भार गणना गरिन्छ । ११० सदस्यीय प्रदेशसभामा एमालेका ५६, माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २३, विवेकशील साझा पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका २\२ जना छन् । जनता समाजवादी पार्टीबाट निर्वाचित १ जना हाल कांग्रेसतिर छन् । एमालेका ५६ जनामा केपी शर्मा ओली पक्षमा ३२ र माधव नेपाल पक्षमा २२ जना सांसद प्रदेश सभा सदस्य छन् । स्थानीय तहका २३८ मतदातामध्ये एमालेको १३३ जना, कांग्रेसको ६७, माओवादी केन्द्रको ३३, राप्रपाको २, नेमकिपा २ र जसपाका १ जना छन् । एमालेको १३३ मा ओली पक्ष र माधव नेपाल पक्षमा विभाजित छन् ।

प्रतिक्रिया दिनुहोस