काठमाडौं । पछिल्लो ३ दिनमा हवाईमार्ग हुदै विदेशीने र विदेशबाट आउने यात्रुहरुको संख्या ह्वात्तै बढेको छ । कोभिड १९ संक्रमणको दोश्रो लहर भित्रिए संगै रोकथाम र नियन्त्रणका लागि सरकारले आज २३ गते राती १२ बजे देखि सबै अन्तरराष्ट्रिय उडान र अवतरणमा रोक लगाएपछि विदेश जाने र स्वदेश फर्कने यात्रुहरुको चाप बढेको हो ।
पछिल्ला दुई दिनमा यात्रुहरुको आवागमनमा ४० प्रतिशतले वृद्धि भएको अध्यागमन विभागले जनाएको छ । नेपाललाई ट्रान्जिट प्वाईट बनाएर तेश्रो मुलुक उडान गर्न नपाउने बैशाख १३ गतेको मन्त्रीपरिषद् निर्णय पछि यात्रुहरुको आवागमनमा कमि आएपनि १९ गतेको निर्णय संगै आवागमनको दर वृद्धि भएको हो । सरकारले अन्तर्राष्ट्रिय उडान र अवतरणमा रोक लगाए पनि नेपाल स्थिति विदेशी दुतावासहरुले पनि नेपालमा घुम्न आएका आफ्ना नागरिकलाई फिर्ता लैजाने गरेको , कोभिड भ्याक्सिन लगाएर ट्रेकिङ गर्न आएका पर्यटकहरुले पनि कम्तिमा १० होटल क्वारेन्टीन बस्नुपर्ने भएपछि आफ्नै देश फर्कने गरेको र घुम्न आएका पर्यटकले पनि घुम्न नपाएपछि फर्कने गरेकाले यात्रुहरुको चाप बढेको बताईएको छ ।
उडान रोकिने भएपछि विदेशमा रहेका नेपालीहरु स्वदेश फर्कने अनुपात पनि ह्वात्तै बढेको छ । अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले अन्तराष्ट्रिय उडान रोक्ने नेपाल सरकारको निर्णय संगै विदेशमा रहेका नेपाली स्वदेश फर्किने र श्रमका लागि विदेश जाने नेपालीहरुले पनि निर्धारित उडान अघि सारेको, कामको सिलसिलामा र घुम्न आएका विदेशी नागरिकहरु आफ्नै देश फर्कने क्रम बढेकाले आवागमन ३० देखि ४० प्रतिशत सम्म वृद्धि भएको बताए ।
उनले भने, “हामीले हरेक दिन विमानस्थलबाट कति व्यक्तिहरु विदेश प्रस्थान गरे र कति स्वदेश आगमन भयो भनेर तथ्यांक राख्ने गर्छौ । त्यो हिसाबले हरेक दिनको आगमन र प्रस्थानको अभिलेख हामीसंग छ । तर विद्यार्थी, कामदार र अरु व्यवसायीक मान्छेहरु कति भन्ने खालको डाटा हामीले राख्ने गरेका छैनौ । बैशाख १३ गतेको मन्त्रीपरिषद् निर्णयपछि, नेपाललाई ट्रान्जिट प्वाईट बनाएर अर्को देश जाने प्रयोजनका लागि नेपालमा हवाईयात्रा गर्न नपाईने भन्ने नेपाल सरकारको निर्णयपछि त्यस्तो व्यक्तिहरु नेपालमा यात्रा गर्न कम गर्नुभयो । त्यसपछि समग्रमा यात्रुहरुको आवागमन घटेको देखिन्छ ।
केही दिन सम्म यात्रुको आवागमन घटेको थियो । पछिल्लो पटक १९ गतेको मन्त्रीपरिषद् निर्णय बाट २३ गते राती, आज राती १२ बजेबाट अन्तराष्ट्रिय उडान बन्द गर्ने निर्णय भईसकेपछि, यो बीचमा अत्यावश्यक कामले आफ्नो देश फर्कनुपर्ने विदेशी नागरिकहरु र विदेशमा रहेका नेपाल फर्कन चाहने नेपाली नागरिकहरु केही समय बन्द हुन्छ भनेपछि आफ्नो तालिका परिवर्तन गरेर आउने जाने क्रम बढेको कारणले पछिल्लो एक दुई दिन चाहीँ यात्रुहरुको आवागमन बढेको देखिन्छ । यात्रुहरुको चाप बढेपछि विभिन्न एयरलाईन्सहरुले केही अतिरिक्त उडान गरेको सुन्नमा आएको छ । यात्रुहरुको चाप बढेपछि पनि अतिरिक्त उडान संभव भएको हो ।
मैले पाएको जानकारी अनुसार आज राती १२ बजे भन्दा अगावै विदेशबाट प्रस्थान गरिसकेका र ट्रान्जिट भएर आउनुपर्ने जहाजहरु भोली बिहानसम्म २ वटा सम्म आउन दिने गरि कुरा भएको मैले बुझेको छु । त्यसले गर्दा भोली बिहानसम्म यहाँहरुले प्लेन आएको देख्न सक्नुहुन्छ । १३ गतेको मन्त्रीपरिषद्को निर्णयपछि दैनिक २०÷२५ प्रतिशतले यात्रुहरुको आवागमनमा कमि आएको थियो । पछिल्लो पटक त्यसलाई कभर गर्ने गरि ३० /४० प्रतिशतले बढेको छ । ” हवाईमार्गबाट बैशाख २२ गते मात्रै २ हजार २ सय ९० जना प्रस्थान भएका छन् भने ३ हजार ८ सय ८४ जना नेपाल भित्रिएका छन् ।
त्यसैगरी, २१ गते १ हजार ४ सय ४० नेपाल छोडेका छन् भने ३ हजार १ सय ८३ जना नेपाल आएका छन् । २० गते १ हजार २ सय ५ जना, १९ गते १ हजार ३ सय ६९ जना ,१८ गते १ हजार ६ सय ९० जना र १७ गते २ हजार ५ सय ९ जना हवाईमार्ग हुदै विदेश गएका छन् । अध्यागमनका अनुसार, २० गते २ हजार ३ सय २३ जना, १९ गते २ हजार ५ सय १० जना,१८ गते २ हजार ३१ र १७ गते २ हजार ६ सय २७ जना नेपाल भित्रिएका छन् ।
यात्रुहरुको चाप बढेपछि मंगलबार मात्रै एयर अरेबियाले ३ वटा उडान थप गरेको थियो । त्यसैगरी अन्य एयरलाईन्सहरुले पनि उडान थप गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ बैशाख २०७८, १५ : ०८
लेखकबाट थप