‘एन्फा डे’का सबै कार्यक्रम स्थगित

सफल खबर संवाददाता

बुधबार, २२ बैशाख २०७८, १३ : ५१
‘एन्फा डे’का सबै कार्यक्रम स्थगित

काठमाडौं ।अखिल नेपाल फुटबल संघ एन्फाले हरेक वर्ष वैशाख २२ गते मनाउँदै आएको ‘एन्फा डे’का सबै कार्यक्रम यसपटक स्थगित भएको छ ।एन्फाले बुधबार विज्ञप्ति जारी गर्दै कोभिड-१९ले उत्पन्‍न प्रतिकूल अवस्थाका कारण सबै पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको जनाएको छ ।

‘हाल देशमा कोभिड-१९ का कारण उत्पन्‍न प्रतिकूल अवस्थाका कारण एन्फा डेको अवसरमा आयोजना गर्ने भनिएको सबै पूर्वनिर्धारित कार्यक्रमहरु यो वर्षलाई स्थगित गरिएको जानकारी गराउँदछु ।’ एन्फा प्रवक्ता किरण राईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै हाल महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न सरकारद्वारा सुझाइएका सबै सुरक्षा मापदण्डहरु पालना गर्न पनि एन्फाले आग्रह गरेको छ ।

दुई वर्ष अघिदेखि एन्फा डे मनाउन थालिएको थियो । तर गत वर्ष पनि कोभिड-१९कै कारण कुनै कार्यक्रम आयोजना भएको थिएन । वि.सं २०७५ साल वैशाख २२ गते कर्मा छिरिङ शेर्पाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो ।

यसअघि नेपाल क्रिकेट संघ र नेपाल भलिबल संघले अर्को सूचना नआएसम्म सबैखाले गतिविधि स्थगित गरिसकेको छ । यद्यपि, एन्फाकै प्राविधिक सहयोगमा पहिलो फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग भने सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस