प्रधानमन्त्री ओली भारतसँग सम्बन्ध सुधारका लागि लागिरहनु भएको छ : प्रचण्ड

आइतबार, १८ चैत्र २०७४, १० : १५
प्रधानमन्त्री ओली भारतसँग सम्बन्ध सुधारका लागि लागिरहनु भएको छ : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं बामगठबन्धनका नेता प्रचण्डले प्रधानमन्त्री केपी ओली भारतसँग सम्बन्ध सुधारका लागि लागिरहेको बताएका छन ।
आज कान्तिपुर दैनिकलाई दिएको अन्तर्वार्तामा प्रचण्डले भारतसँग सम्बन्ध विस्तार गर्न ओलीले अलि बढी मिहिनेत गरेको स्पष्ट गरेका छन् । दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीको पहिलो विदेश भ्रमण भारतबाट हुँदैछ । ओली चैत्र २३ बाट भारत भ्रमणमा जाँदैछन् ।

चीन र भारतबीच सन्तुलित सम्बन्ध कसरी विकास गर्ने ?
प्रचण्डको जवाफ छ : विगतका सबै अनुभवहरूबाट दुवै छिमेकी मित्रसँग असल सम्बन्ध विकास गर्नेमा विमति छैन । सन्तुलित सम्बन्धले मात्र नेपाली जनताको समृद्धिको आकांक्षा पूरा गर्न सकिन्छ । म प्रधानमन्त्री भएका बेला १० महिना चीन र भारतलाई विश्वासमा लिन सकिँदो रहेछ भन्ने उदाहरण बनेको छ । वाम गठबन्धनको सरकार बनेपछि भारत र चीनसँग सन्तुलित सम्बन्ध बनाउन प्रयत्न गर्नुपर्छ । केपी ओलीजीले भारतसँग सम्बन्ध विस्तार गर्न अलि बढी मिहिनेत गर्नुभएको छ । मैले पनि सहजीकरण गरिरहेको छु । हामी कोहीपरस्त होइन, नेपालपरस्त हो ।
प्रचण्डले राज्यका विभिन्न निकायमा कठोर कदम चाल्ने संकेत पनि दिएका छन् ।

राज्यका निकायहरूको रूपान्तरणबारे केही सोच्नुभएको छ ?
प्रचण्डको जवाफ छ : संविधानको मर्म र भावनाअनुसार राज्यका सबै निकाय परिवर्तन हुनुपर्छ । अदालत, कर्मचारीतन्त्र, सुरक्षा निकायलगायत राज्यका सबै अंग रूपान्तरण हुनुपर्छ । राणाका पालादेखि, राजामहाराजा र पञ्चायतकालका ऐन, नियम अहिले पनि छन् । एकथरी मान्छेको सोचाइ त्यस्तै छ । त्यसलाई बदल्नैपर्छ । हामी बदल्छौं, बदलिन नचाहनेलाई राज्यले बिदा गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस