कोभिड नियन्त्रणका लागि ठोस कदम चाल्न उद्योग संघको आग्रह

सफल खबर संवाददाता

सोमबार, १३ बैशाख २०७८, १५ : ४५
कोभिड नियन्त्रणका लागि ठोस कदम चाल्न उद्योग संघको आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघले आकस्मिक बैठक बस्दै सरकारको ध्यानाकर्षण गराएको छ ।सोमबार संघको केन्द्रीय पदाधिकारीहरुकोे बैठकले सरकारको ध्यानकर्षण गराएको हो ।कोभिड–१९ को दोस्रो लहर तिब्र रुपमा फैलिएसँगै देशमा संकट आउन सक्नेबारे सचेत गराउँदै सरकारलाई कोभिड नियन्त्रको ठोस कदम चाल्न समेत बैठकले आग्रह गरेको छ । 

पछिल्लो समय छिमेकी मुलुक भारतमा देखिएको कोरोनाको तिव्रता र नेपालमा समेत सो भाइरसको जोखिम बढ्दै गइरहेको परिप्रेक्ष्यमा जोखिम न्यूनीकरणका लागि बेलैमा ठोस कदम चाल्न सरकारलाई परिसंघले आग्रह गरेको छ ।

विशेषगरी कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै गइरहेकोले सरकारबाट खोप खरिद प्रक्रियालाई पहिलो प्राथमिकतामा राखी तुरुन्त खोप लगाउने कार्य थाल्नुपर्ने, खोप आयात कार्यमा निजी क्षेत्रलाई समेत सामेल गराएर अरु देशका खोपहरुलाई फास्ट ट्रयाकमा अनुमति प्रदान गरी खोपलाई अभियानको रुपमा नेपालभर अगाडि बढाउनुपर्ने र संकटको बेलामा समेत उद्योग कलकारखाना निर्वाध सञ्चालन हुने वातावरण मिलाउनुपर्ने माग परिसंघले राखेको छ । 

त्यस्तै, अहिलेको अवस्थामा आपूर्ति व्यवस्थालाई सुदृढ गर्नका लागि उद्योग व्यवसाय र यातायात क्षेत्रमा काम गर्ने कर्मचारी र मजदूरलाई खोपको व्यवस्था गर्न समेत परिसंघले माग गरेको छ । त्यसैगरी, अक्सिजनको आपूर्ति व्यवस्थालाई सहज बनाउन उद्योगहरुसँग समन्वय गरी अक्सिजन सिलिन्डरको आयातमा भन्सार छुट दिने र स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिन परिसंघले सरकारसँग आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस