कोरोना कहर बढेसंगै पलाञ्चोक भगवती मन्दिर अनिश्चितकालका लागि बन्द

सफल खबर संवाददाता

सोमबार, १३ बैशाख २०७८, १० : ५९
कोरोना कहर बढेसंगै पलाञ्चोक भगवती मन्दिर अनिश्चितकालका लागि बन्द

काभ्रे । कोरोना कहर बढेसंगै सर्वसाधारणको भिडभाड हुन नदिन काभ्रे पलाञ्चोकमा रहेको पलाञ्चोक भगवती मन्दिरमा अनिश्चितकालका लागि पूजा र दर्शन गर्न रोक लगाइएको छ । पाँचखाल नगरपालिकाले आइतबारदेखि नित्य पूजा बाहेकका अरु अन्य पूजापाठलगायतका सम्पूर्ण क्रियाकलाप बन्द गरेको हो ।

नगरपालिका प्रमुख महेश खरेलले विश्वभरि फैलिँदै गएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण नेपालमा समेत बढ्दै गइरहेको र मठमन्दिरमा दर्शनार्थीको भिडले कोरोना सङ्क्रमणको जोखिम अझै बढ्ने सम्भावना भएकाले नगरपालिकाको नगरस्तरीय विपद् व्यवस्थापन समितिको यही वैशाख १० गते बसेको निर्णयानुसार सर्वसाधारणलाई दर्शन र पूजापाठ गर्न बन्द गरिएको बताए । 

मन्दिरमा नियमित नित्य पूजा भने निरन्तर चल्ने उनले बताए । पञ्लाञ्चोक भगवती मन्दिरलगायत नगरपालिकाले नगरभित्रका अन्य मठमन्दिरमा समेत सर्वसाधारणलाई अर्को सूचना नभएसम्मका लागि पूजा र दर्शन गर्न बन्द गरेको छ ।

प्रतिक्रिया दिनुहोस